व्यवसायी दुर्गा प्रसाईंले मेची नदीछेउको काँकडभिट्टाबाट सुरु गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज (फागुन १) वार्षिकोत्सव मनाउँदै छ । प्रसाईं नेतृत्वको आज मंगलबार गर्ने महाअभियानको ‘वार्षिक उत्सव’ कार्यक्रमको लागि भृकुटीमण्डपमा आयोजना गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको थियो ।
प्रसाईं समूहले काठमाडौंको कीर्तिपुर, स्वयम्भू, वनस्थली, चाबहिल, भक्तपुर र ललितपुरको भुलुबाट जुलुस निकालेको थियो । गत मंसिर ७ को कार्यक्रममा काठमाडौंको चक्रपथभित्र कार्यक्रम गर्न नपाएका प्रसाईँले यसपालि उपत्यकाको मुटु नै मानिने स्थानमा गरेका छन् । कार्यक्रमका लागि उनले यसपालि पनि देशका विभिन्न भागबाट सहभागी बोलाएका छन् । यसअघिको कार्यक्रम प्रदर्शनमा केन्द्रित थियो । अहिलेको कार्यक्रम सभामा केन्द्रित छ ।
सभामा आमन्त्रित अतिथिहरूले शुभकामना मन्तव्य पनि दिनेछन् । मुख्य वक्ताका रूपमा भने अभियानका संयोजक प्रसाईं नै रहनेछन् । प्रसाईंले वार्षिकोत्सव कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका नेताहरूलाई पनि आमन्त्रण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतलाई पनि निम्तो बाँडिएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि निम्तो दिइएको थियो । तर, पूर्वराजा शाह प्रसाईंको कार्यक्रम छलेर आइतबार नै चितवनतिर लागेका छन् ।
आजको कार्यक्रमको लागि भृकुटीमण्डपस्थित कार्यक्रम स्थलको सुरक्षामा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । प्रसाईंको कार्यक्रममा ‘घुसपैठ’ हुनसक्ने आकलन गरेर आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । प्रसाईंको कार्यक्रम बिहान ११:३० मा सुरु भई साँझ ५ बजेभित्र सक्ने योजना रहेको छ ।





















