skip this वडा नं १६ बालाजु च:मती

बालकुमारी घटनाको दोषीलाई आवश्यक कारबाही गर्ने प्रधानमन्त्रीको आश्वासन

प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले सोधेका प्रश्नको जवाफमा आज आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले बालकुमारी घटनाका दोषीलाई आवश्यक कारबाही गर्ने बताएका छन् । उनले गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुई युवाको प्रहरीको गोलीबाट हत्या भएको विषयमा छानबिन समितिले आफूलाई अध्ययन प्रतिवेदन बुझाएको र आफूले सो प्रतिवेदन अध्ययन गरिनसकेकोले अध्ययनपछि आवश्यक कारबाही गर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले रोजगारीको निम्ति कोरिया जाने प्रोसेसमा काठमाडौं आएका दुई युवाको हत्यालाई गम्भीर रूपले लिएको र उनका परिवारका एक–एक जनालाई रोजगारी दिने निर्णय गरेको बताएका छन् । साथै, संसदमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला दोषी देखिएकाले उनलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘बालकुमारी घटनालाई सरकारले गम्भीर रूपमा लिएर तत्काल त्यसमा संलग्नहरूलाई निलम्बन गर्ने, छानबिन प्रक्रिया अगाडि बढाउने, मृतकका परिवारलाई १० लाख दिएर मात्र सरकार बसेको छैन, मेरै प्रस्तावमा छानबिन समिति बनाएको हो । छानबिन समितिले बनाएको प्रतिवेदन गृह मन्त्रालयबाट भर्खर मेरो हातमा परेको छ, त्यसलाई मैले हेर्न पाएको छैन, त्यसको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ, म विश्वास दिलाउन चाहन्छु । सरकारले १० लाख दिएर चुप लागेर बस्यो भन्नु ठिक होइन ।’