skip this वडा नं १६ बालाजु च:मती

मित्रताका केही सूत्रहरु

– अच्युतप्रसाद पौडेल ‘चिन्तन’

सहयोगी विचार मित्रताको पहिलो गुण हो । घमण्ड, रिस, क्रोध, इष्र्या, वैमनस्यतालाई त्याग गर्नाले मित्रहरु वृद्धि हुन्छन् । संगतिबाट विचार पैदा हुन्छ । संगति कुवा हो जसबाट विचाररुपी जलप्रवाह हुन जान्छ । विचाररुपी जलको श्रोत भनेको संगतिरुपी कुवा हो, मुहान हो ! मित्र त्यस्तो होस् जसले अवनतिमा पनि साथ देओस् । उन्नतिमा त सबैले साथ दिन सक्छन् तर अवनतिमा पनि ढाडस दिने मित्र असल मित्र हो । मित्र त्यस्तो होस् जसमा जलन नहोस् । मित्रको उदयमा जलन हुनेसँग मित्रता गाँस्नु बेकार हुन्छ । मित्र सकेसम्म रंग, रुप मिलेको होस्, सुन्दर होस् । तर कुरुप भए पनि विचार राम्रो भए त्यो असल मित्र हुन सक्छ । मित्र त्यस्तो होस् जसको बोलीमा स्पष्टता, मधुरता, क्षमाशील्, इष्र्या रहित होस् । स्मरण शक्ति तीव्र रहोस् । तीखो बुद्धिको होस्, सोच सकारात्मक होस् । शान्त होस्, धीर र वीर होस् । कर्मशील होस्, धर्मानुरागी होस् । मानमा नमात्तियोस्, अपमानमा न आत्तियोस्, धैर्य नगुमाओेस् ।

मित्र दयालु होस्, साथमा कुशलता होस् । र्हिदयमा प्रवलता होस् । मनमा पवित्रता होस् । कामनाले रहित होस्, निष्काम भावको होस्, बदला लिने भावले काम गरेको नहोस् । भय रहित होस् । सन्त्रास रहित होस् । लोभ रहति होस् । क्रोध पटक्कै नगरोस्, वर्गलाई कहिल्यै नछोडोस् । धर्मलाई रत्तिभर विचलित नगराओस् । कार्यमा त्रुटि हुन नदेओस्, धैर्य र साहसी होस्, सभ्य, परिवेश अनुसार कुराकानी गर्न सक्ने होस्, परिस्थितिलाई बुझ्ने होस्, समयको महत्वलाई बुझ्न सक्ने होस् । समय बलवान छ, समयसँग हिड्न सक्ने होस् । अतितको भुमरीमा नतड्पिने होस् । भविष्यको उज्यालो चाहने होस् । वर्तमानमा स्वर्ग देख्ने होस् । कोरा कल्पना भन्दा यथार्थ र सहज हुन सिकेको होस् । जुनसुकै परिवेशलाई आत्मसात् गर्ने होस् । कर्तव्य र अकर्तव्यको बोध गर्ने होस् ।

मित्र त्यस्तो होस् जसले आफन्तको अपमानलाई आफ्नै अपमान सम्झन सकोस् । पाण्डव र कौरव दुई पृथक स्वभावका थिए । वैरभाव थियो परन्तु दुर्योधनको वेइज्जतमा आफ्नो वेइज्जत सम्झन्थे युधिष्ठिर ! कारण बाहिरकाले बेइज्जती गरेमा पाण्डव–कौरव फरक होइनन् एकै कुलका हुन्, यो वेइज्जती हाम्रो पनि वेइज्जती हो भन्थे युधिष्ठिर । मित्र त्यस्ता हुन् जसले उदासीन र कायर भावलाई मनमा आउनै नदेओस् । स्फूर्ति, जाँगर, उत्साह र धैर्यलाई आत्मबलको रुपमा आत्मसात गरोस् । मित्र त्यस्तो होस् समयमा खानपान गर्ने होस्, सात्विक अहार गर्ने होस् । हिंसामा विश्वास नगरोस् । हरेक कार्यलाई कुशलता र दक्षतापूर्वक सम्पन्न गर्न सकोस् । कार्यमा अग्रसर होस् । नैतिक र शिक्षाप्रद ज्ञान दिन सक्ने र लिन सक्ने होस् । ध्यानपूर्वक अरुको कुरा सुनोस् । प्रमाण, तर्क र युक्तिसंगत वार्तालाप गर्ने साहसिलो होस् । शालीनताको व्यवहार होस्, नियमित व्यायाम गर्ने होस् । असल मित्रले आफ्नो र आफ्ना मित्रको पनि सहज उद्वार गरिराखेको हुन्छ ।

जन्म मृत्यु व्यक्तिको एक्लै हुन्छ र पनि व्यक्तिलाई मित्रताको खाँचो पर्छ । जन्म र मृत्यु वाहेक अरुबेला व्यक्ति एक्लै बाँच्नै सक्तैन । परिवार–समाज–साथी, मित्र, आफन्त आदि उसका वरिपरि भैरहन्छन् । धेरै जनासँगको आत्मीय सम्बन्धबाटै व्यक्तिले आफ्नो आत्मोन्नति गर्न सकेको हुन्छ । विकास पथमा अग्रणी भूमिका निर्वाह गर्न सकेको हुन्छ । मित्र धेरै हुन्छन् तर परम मित्र कम हुन्छन् । सामान्यतया सम्झौता गर्न लायक मित्रहरु ५ प्रकारका हुन्छन् ।

कृत्रिम मित्र ,सहयोगी मित्र, पुख्र्यौली मित्र, सहज मित्र, धार्मिक मित्र

कृत्रिम मित्र : धनमा मात्र साथ दिने । धन दिंदा मात्र साथ दिने । (सामान्य मित्र)
सहयोगी मित्र : सहयोगी मित्र शर्त राखेर गर्ने हिसाब राख्ने अमृत मंथनमा बाँडेर लिने बाँडफाँडमा कुरा नमिले झगडा गर्ने(मध्यम मित्र)
पुख्र्यौली मित्र : वंश परम्परागत रक्त सम्बन्ध (श्रेष्ठ मित्र)
सहज मित्र : नाता, कुटुम्ब, (विशष्ट मित्र)
धार्मिक मित्र : आत्मिक सम्बन्ध, पूजा, भजन, कीर्तन, अनुष्ठानमा सखीहरु, लेनदेन नहुने, (सर्वश्रेष्ठ मित्र)

असल मित्रको पहिचान गर्ने केही आधाहर छन् जस्तै ईश्वरमा विश्वास कति राख्छ, धनको मोहमा कति लाग्छ, अभाव, दु:ख, कष्टमा कति साथ दिन्छ, संकटको घडीमा कति नजिक हुन्छ, मित्रको उदय, उन्नतिमा कत्तिको खुशी व्यक्त गर्छ, दु:खमा कत्तिको साथ दिन्छ, कति ढाड्स दिन्छ, कति प्रेरणा र हौसला दिन्छ, स्वार्थमा कुराहरु कति राख्छ/शर्त कति राख्छ, लिने कुराहरु कत्तिको गर्छ, दिने कुराहरु व्यवहारत: गर्छ कि बोलिले मात्र ।

नर भनेको मान्छे उसले गर्ने कुकर्मलाई नरक भनिन्छ । स्वर्ग र नरक हामै्र वरिपरि छ । पाप प्रदुषण हो । तन भनौँ शरीरको, धनको र मनको प्रदुषणको समष्टि नै पाप हो । पापको श्रोत लोभ हो । पद, प्रष्तिठा, सँधै शक्तिमा बसिरहने सोच, आफन्तलाई शक्तिमै राखिरहने सोचले मानवलाई खान्छ । लोभबाट पाप पैदा हुन्छ, पापबाट अधर्म । त्यसबाट दु:खको जन्म हुन्छ । दु:खबाट स्वत: पाप वृद्धि हुन्छ । आफ्नो भरणपोषण, परिवारमा भरणपोषण र समाजमा आफू उन्नतशील रहन पाप कर्महरु वृद्धि भैरहन्छन् । लोभबाट उत्तेजना पैदा हुन्छ, उत्तेजनाको कारण क्रोध र क्रोध पछि तनाव पैदा हुन्छ । आवेग–तनाव–क्रोधबाट इष्र्या, मोह, अभिमान पैदा हुन्छ । पदको अभिमान, प्रतिष्ठाको अभिमान, पैसाको अभिमान, परिवारको अभिमान, पुत्र, पुत्री सन्तानको अभिमान, बडप्पनको वृद्धि भैरहन्छ । अभिमानले जरो गाडेपछि क्रमश: मानव र्हिदय शुन्य हुन्छ । अहिले सत्तामा देखिएको खेल, सयौँ मुद्दा यसैको परिणाम हो । लोभबाट क्रमश कृपणता र कृपणताबाट तृष्णाको उदय हुन्छ । तृष्णाले विकर्म र अधर्मलाई निम्त्याउँछ । लोभबाट अविश्वास पैदा हुन्छ । लोभबाट क्षमा हराउँछ, लज्जा पनि हराउँछ । लज्जा नियम हो । सामाजिक बन्धन हो । नियम हराएपछि नैतिकता स्वत: दवेर बस्न बाध्य हुन्छ । यसै बखत धर्मको ह्रास हुन्छ । पापको भारी वृद्धि हुन्छ । चिन्ता बढ्छ । अधार्मिकहरुको विगविगी हुन थाल्छ । धार्मिक सज्जनहरु खेदिन लखेटिन थाल्छन् । चिन्ता बढ्दै जाने हुनाले चिन्तन हट्न थाल्छ । मनोमालिन्य वृद्धि हुन्छ ।

लोभको कारण अरुको धनको मोह पैदा हुन्छ । अरुको तनको मोह पैदा हुन्छ । काम इन्द्रियहरु तीव्र हुन थाल्छन् । जिब्रोले रसको खोजी बढी गर्छ । मिथ्या बोलीबाट आफू ठूलो हुने प्रयास व्यक्तिले गर्छ । अरुप्रति द्वेष, घृणा, दुर्गूण बढ्दै जान्छ । स्नेह, भातृत्व, क्षमा र दया स्वत: हटेर, घटेर जान थाल्छन् । लोभको स्वरुप अचम्मको हुन्छ । मान्छे बूढो हुन्छ तर लोभ तन्नेरी हुँदै जान्छ । उसको स्वभाव जवानी हुँदै जान्छ । सम्पूर्ण खहरेहरु, नदीहरु, वर्षाकालीन भेलहरु समुद्रमा पुग्छन् । ठीक त्यस्तै धन, पद, प्रतिभा एकोहोरिएर वर्षन थाल्छन् तर पूर्णता प्राप्ति हुँदैन । वर्षाकालीन नदीनालाहरु सोहोरिएर समुदं्रमा पुग्दा पनि समुद्रले पुग्यो भन्दैन ठीक त्यस्तै सबै रुप, प्रतिष्ठा, धन सम्पति एवं सोहोरिएर आए पनि लोभी व्यक्तिले मलाई पुग्यो भनेर कहिल्यै भन्दैन । बुढेसकालमा नेताहरु चिल्ला गाडीमा र मोटर साइकलमा सडक संघर्षमा देखिएकै हो ।

लोभको वास्तविक स्वरुप कोही जान्दैन । मनुष्यपिच्छे लोभको स्वरुप आवरण अनुसार फरक फरक हुन्छ । परिवेश अनुसार लोभको रुप पनि अलग हुन्छ । लोभको स्वरुप बुझ्न चाहिँ सजिलो छ । यसको स्वरुप दम्भ हो, द्रोहीपना हो, निन्दा हो, चुक्ली हो, द्वेष हो, यस्ता अवगुण जसमा पाइन्छ ऊ लोभी हो भन्ने बुझ्नुपर्ने हुन्छ । सत्तामा सत्तो श्राप, हिलोछ्यापाछ्याप देखिएकै हो । मान्छे सबै कार्य आफूले गरेको भन्ने ठान्छ । कर्तृत्वको अभिमान बोकेको हुन्छ । कर्तृत्वको अभिमान बोकुन्जेल ईश्वरीय सत्तालाई स्वीकार्न सकिंदैन । कुविचार नरक हो, कुसंस्कार नरक हो । कुप्रवृत्ति नरक हो । अरुको उन्नति र प्रगतिलाई देख्न नसक्नु त्यसबाट जलन पैदा हुनु लोभको प्रतिकात्मकता हो । अज्ञानताले यस्तो स्वभाव पैदा हुन्छ । लोभ बढ्नु भनेको अज्ञानको वृद्धि हुनु हो भने लोभको मात्रा घट्न जानाले अज्ञानतालाई केही हदसम्म तल झार्न सकिन्छ । लोभ र अज्ञानता एक अर्काका परिपूरक हुन् । जनक, पृथु, अम्बरिष, दधिचिहरुले लोभ गरेनन् । तर हिरण्याक्ष, हिण्यकशिपु, रावण, कुम्भकर्ण, दन्तवक्र, शिशुपाल, जरासन्धहरुले लोभ गरे, तिनीहरु अज्ञानी थिए ।

उपाय नहुने समस्या हुन्न । :लोभका निराकरणका केही सजिला उपाय पनि छन् । इन्द्रिय संयम गरेर,शुभ कर्ममा अग्रसर भएर, खराब कार्यलाई तिरस्कार गरेर,सकारात्मक सोचको वृद्धि गरेर । सकारात्मक सोचले दीर्घजीवी बनाउँछ । रागबाट टाढा हुनेले रोगबाट पनि टाढा रहन सक्छ । आधिको रोग राग हो मानसिक, व्याधिको रोग चाँहि शारीरिक रोग हो । मनमा शान्ति स्थापना गरेर, स्वाध्यायबाट र आनन्द लिएर, क्रोधलाई चेहरामा आउन नदिएर, प्रफुल्ल रहेर, हाँसेर, हसाँएर । संयमीको लक्षण क्षमा हो, धीरता हो, अहिंसा हो, समता हो, सत्यता हो, सरलता हो, दक्षता हो, कोमलता हो, स्थिरता हो, उदारता हो, शान्त स्वभाव हो, सन्तोष हो । दोष नदेख्ने बानीले प्राणीप्रति दया भाव पैदा हुन्छ । अरुलाई अपमान नगर्ने, निन्दा नगर्ने बानीले संयमीको लक्षण उजागर हुन्छ । मुक्त व्यक्ति त्यही हो जसले सदैव कसैको निन्दा गर्दैन, अरुको प्रशंसाबाट पनि बच्दछ । सबैप्रति मित्रता भाव राख्छ । वैरभाव पटक्कै कसैप्रति गर्दैन । सदाचारी, गुणी, स्नेही, मित्रवत् रहन्छ । अभिमानबाट टाढा रहन्छ । प्राणीमा समभाव राख्छ । आफू अभयी रहन्छ । क्षमाशील बनेर पुण्य आर्जन गर्न सदैव अग्रसर हुन्छ र अरुलाई पनि पुण्य आर्जन गर्न थप बल र प्रेरणा अनि उत्साह दिन्छ । यस्तै कार्यबाट मात्र देशमा समाजवाद आउँछ । जनक, भतृहरिले देखाएको बाटो समाजबाद हो, नक्कली मुखुण्डो लगाएर भाषण गर्दैमा, सडकमा छताछुल्ल हुँदैमा देशमा समाजबाद आउँदैन,जनता ठगिने मात्रै हुन् । समाज तड्पिने मात्रै हो ।