skip this काठमाण्डौं महानगरपालिका ११

बजेट अभावले महाकाली सिँचाइ आयोजना प्रभावित

बजेट अभावका कारण कञ्चनपुरस्थित राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ । मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको आयोजना कार्यालयका निर्देशक कुसाङ शेर्पाले बताए ।

उनले माग गरेभन्दा निकै कम बजेट प्राप्त भएकाले जमिन अधिग्रहण गर्न समस्या भएको बताए । उनले भने, ‘विकासतर्फको २० करोड रुपैयाँ रकम अर्थ मन्त्रालयकै सहमतिमा मुआब्जातर्फ रकमान्तर गरेर जमिन अधिग्रहण गरेका थियौं । २१.६ हेक्टर जमिन अधिग्रहणका गर्न ८७ करोड रुपैयाँ थप बजेट माग गरेका छौ ।’ उनका अनुसार यस वर्ष विकासतर्फ ९९ करोड र मुआब्जाका लागि १२ करोड रुपैयाँ आएको थियो । बजेट नहुँदा यस वर्ष नयाँ ठेक्का लगाउन सकिएको छैन ।

आयोजनाको २८.८ किलोमिटरदेखि ४८.३ किमिसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि बजेट अभाव, रूख कटानमा समस्या र जमिन अधिग्रहण हुन नसक्दा काम हुन सकेको छैन । निर्देशक शेर्पाका अनुसार १९ किलोमिटर नहर निर्माणका लागि शुक्लाफाँटा नगरपालिकाको फुलेलीदेखि कैलालीको गोदावरी नगरपालिकामा पर्ने मालाखेतीसम्म सात हजार दुई सय रूख कटान गर्नुपर्ने छ तर त्यसको अनुमति वन विभागले अहिलेसम्म दिएको छैन ।

डेढ दशकसम्म पनि आयोजनाको काम पूरा नहुँदा स्थानीय किसान खिन्न छन् । स्थानीय विसन दत्त जोशीले भने, ‘सिचाँइ सुविधा उपलब्ध हुने स्थानमा किसानहरुले बोरिङबाट सिँचाइ गरिरहेका छन् । आयोजना लामो समयसम्म पनि निर्माण हुन नसक्दा  लागत पनि बढ्दै गएको छ ।’

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले आयोजनाको मूल नहर नै जीर्ण हुँदै गएकाले सरकारले आयोजनाको काम शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले आयोजनाका समस्या समाधान गरेर सरकारले किसानका खेतमा पानी पुर्याउनुपर्ने बताए ।