नारा र प्लेकार्डसहित सिंहदरबार तर्फ अघि बढेका मिटरब्याज पीडितहरूको आन्दोलनलाई आज शुक्रबार प्रहरीले अवरोध गरेको छ । न्याय खोज्दै पुन: काठमाडौं आएका उनीहरुलाई प्रहरीले भृकुटीमण्डपबाट सिंहदरबारतर्फ जान नदिएर रोकेको हो ।
प्रहरीले रोकेपछि सोही स्थानमा नारा लगाइरहेका केही मिटरब्याज पीडितहरु सडकमै सुतेका छन् । झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि बुधबार काठमाडौं आइपुगेका हुन् । मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा एउटा समूहले झापाबाट र अर्को समूहले महेन्द्रनगरबाट पैदलयात्रा सुरु गरेको थियो । दुबै टोली चितवनमा भेट भएर सँगै काठमाडौं आएका हुन् ।
सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरूको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरू पुन: न्याय खोज्दै काठमाडौं आएका हुन् ।





















