अफलाइन पठाओ सेवामार्फत सामान डेलिभरी गरिदिने बहानामा यात्रुहरूको सामान लिएर फरार हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ घर भई हाल काठमाडौँको बानियाटार बस्ने ६१ वर्षीय हरिबहादुर पोखरेल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई आज पक्राउ गरिएको हो ।
काठमाडौँको बसपार्क क्षेत्रमा अफलाइन पठाओ स्कुटर सञ्चालन गर्ने व्यक्तिले उपत्यकाबाहिरबाट आएका यात्रुलाई सामान गन्तव्यसम्म पुर्याइदिने भन्दै सामान लिएर फरार हुने गरेको जनगुनासो प्रहरीसमक्ष पुगेको थियो ।
उक्त गुनासोका आधारमा प्रहरी प्रभाग गोँगबु र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पोखरेललाई फेला पारेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पोखरेललाई बा.६३ प ८३४३ नम्बरको स्कुटरसहित नियन्त्रणमा लिइएको हो ।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

















