skip this वडा नं १६ बालाजु च:मती

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

आज सोमबार अपरान्ह वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । उनको ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाने गरेका थिए । संगीतकार हरि लम्सालका अनुसार अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र लम्सालले उनलाई मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो । गत दशैंमा लडेर उनलाई टाउकोमा चोट लागेको थियो ।

आचार्यको पार्थिव शरीरलाई भोलि मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।

१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् । मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत उनका लोकप्रिय झण्डै चार सय गीतमा स्वर तथा संगीत दिएका छन् भने दर्जनौंको संख्यामा भजन पनि गाएका छन् ।