skip this वडा नं १६ बालाजु च:मती

गजल गायक पंकज उदासको निधन

भारतीय गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले आज विज्ञप्ति जारी गर्दै गजलकार उदासको निधन भएको जानकारी गराएको हो ।

उनको परिवारले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, ‘निकै गह्रौं हृदयले हामी यो खबर सुनाउनुपर्दा दु:खी छौं, पद्मश्रीबाट सम्मानित पंकज उदासको २६ फेब्रुअरीमा दीर्घरोगका कारण निधन भएको छ ।’ मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भारतीय समय अनुसार आज सोमबार बिहान ११ बजे उनको निधन भएको हो । उनलाई केही महिनाअघि क्यान्सर भएको पुष्टि भएको थियो । त्यसयता उनले कसैसँग भेटघाट गरेका थिएनन् । १७ मे १९५१ मा जन्मिएका उदासको गायनयात्रा सानै उमेरमा शुरू भएको थियो ।

बलिउडमा गायक नै रहेका दाजु मनहर उदासको पथ पछ्याउँदै गायनमा छिरेका उदास चार दशकसम्म करोडौं गजलप्रेमीको उदासीको गायक बनिरहे । हिन्दी फिल्म र पपबाट गायनमा प्रवेश गरेका उदासको असली पहिचान भने सन् १९८० मा पहिलो गजल एल्बम आहतसँगै भयो । आफ्नो लामो गीतियात्रामा उनले ६० भन्दा बढी एकल एल्बम सार्वजनिक गरेका छन् भने पंकज उदासको स्वरमा ‘और आहिस्ता किजिए बातें’, ‘चाँदी जैसा रंग है तेरा’, ‘आप जिनके करीब होते है’ जस्ता थुप्रै प्रख्यात गजल रहेका छन् ।