बाराको निजगढ नगरपालिका–७ मा सोमबार शङ्कास्पद वस्तु विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका–७ मा रहेका रोहित वर्कसपका सञ्चालक ४५ वर्षीय रेशम मगरको वीरगञ्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको थियो भने घटनामा गम्भीर घाइते भएकामध्ये वीरगञ्ज महानगरपालिका–९ बस्ने २० वर्षीय रितु रजतको सोमबार राति र भारतको मोतिहारी जिल्ला ढाकाथाना गवाई गाउँ बस्ने ३५ वर्षीय राकेश जयसवालको आज मंगलबार बिहान मृत्यु भएको हो ।
प्रहरीका अनुसार उपचारको क्रममा रजतको सोमबार राति पौने १० बजे र जयसवालको मङ्गलबार बिहान ७:३० बजे मृत्यु भएको हो । यसैगरी, गम्भीर घाइते भारतको रामगढवा बस्ने २० वर्षीय अरविन साहको आईसियू कक्षमा उपचार भइरहेको छ भने वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोज देवान र निजगढ नगरपालिका–५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको सामुदायिक अस्पताल निजगढमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । आईसियूमा उपचाररत साहको अवस्था गम्भीर छ भने देवान र थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो १२ बजे (हाई एक्सफ्लोसिप) शङ्कास्पद वस्तु ग्यासले काट्ने क्रममा विस्फोट हुँदा भएको घटनाको अनुसन्धानका क्रममा कवाडी खरिद गर्ने भारत मोतिहारी जिल्ला बस्ने अन्दाजी ४० वर्षीय राज भनिने रमेश जैसवाल र कवाडी बिक्री गर्ने निजगढ नगरपालिका–९ बस्ने २९ वर्षीय टीकाराम पाख्रिनलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















