skip this वडा नं १६ बालाजु च:मती

राष्ट्रियसभाको अध्यक्ष छाड्नु हुन्न: माओवादी केन्द्र बैठक

नेकपा (माओवादी केन्द्र)को आज मंगलबार बसेको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश नेताले राष्ट्रियसभामा ठूलो दलको हैसियतले अध्यक्ष आफूले लिनुपर्ने धारणा राखेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठकपछि प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अधिकांश स्थायी समिति सदस्यले राष्ट्रियसभाको ठूलो दलको हैसियतले अध्यक्ष छाड्नुहुन्न भन्ने धारणा राखेको जानकारी गराएका हुन् ।

यही फागुन २० गतेदेखि राष्ट्रियसभा अध्यक्षको पद रिक्त हुँदैछ । उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयमा समेत नेताहरुले धारणा राखेका थिए । माओवादी केन्द्रले आजको बैठकबाट नेताहरुको कार्यविभाजन गर्ने बताएको थियो । तर, त्यसबारेमा भने कुनै निर्णय हुनसकेन । कार्य विभाजनका विभिन्न विकल्पबारे छलफल भएको छ ।

यद्यपि निर्णय भने बुधबार बस्ने बैठकले गर्ने छ । बैठक आज नै समापन गर्ने तयारी गरिएको भए पनि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को कार्यव्यवस्तताका कारण भोलिका लागि सारिएको बताइएको छ । बैठकमा पार्टी अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।