skip this वडा नं १६ बालाजु च:मती

नाकामा अलपत्र परेकालाई वाणिज्य सङ्घले सहयोग गर्ने

कञ्चनपुर उद्योग वाणिज्य सङ्घले यहाँको गड्डाचौकी सीमा क्षेत्रमा अलपत्र परेर उद्धार गरिएका यात्रुलाई गन्तव्यमा पुर्‍याउन आवश्यक सहयोग गर्ने भएको छ । यही फागुन २१ देखि ३० गतेसम्म वाणिज्य सङ्घको आयोजनामा हुने सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको प्रति टिकटबाट पाँच रुपैयाँ सामाजिक काममा खर्चिने सङ्घले निर्णय गरेको हो ।

सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले टिकटबाट छुट्याइएको रकम सामाजिक कार्यअन्तर्गत पहिलो चरणमा गड्डाचौकीलगायत सीमा क्षेत्रमा नेपाल–भारत आवातजावतका क्रममा अलपत्र परेर उद्धार गरिएका र समस्यामा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने बताए । उनले भने, ‘सीमामा अलपत्र पर्नेलाई उद्धार सुरक्षा निकायबाट हुन्छ । कहिलेकाहीँ एक छाक खुवाएर एक रात बास दिनुपर्ने अवस्था समेत आउने भएकाले आगामी दिनमा सो विषयमा सङ्घले पनि सहयोग गर्ने निर्णय भएको छ ।’

मल्लले सामाजिक क्षेत्रका लागि छुट्याइएको रकमले यहाँका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति, अनाथालय र वद्धाश्रममा समेत सहयोग गर्ने बताए । ‘कृषि उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार’, भन्ने नाराका साथ सुरु हुन लागेको महोत्सवको १५ संस्करणमा सर्वसाधारणका लागि प्रतिव्यक्ति एक सय र विद्यार्थीका लागि प्रतिटिकट ५० रुपैयाँ तोकिएको छ ।

महोत्सव अवधिमा स्थानीय उत्पादन, वस्तु तथा सेवालाई मुख्य आकर्षणका रुपमा राखिने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । साथै लघुउद्यम, अटो प्रदर्शनी, कृषि, बाल उद्यानसहित सुदूरपश्चिमको कला संस्कृति जर्गेनामासमेत सङ्घ लाग्ने जनाएको छ । राससले जनाएनुसार महोत्सव अवधिमा तीन लाख दर्शकले अवलोकन गर्नुका साथै पाँच करोडको करोबार हुने आयोजकको अपेक्षा छ ।