skip this काठमाण्डौं महानगरपालिका ११

माओवादी केन्द्रमा नेताहरुको कार्यविभाजनप्रति उपमहासचिव शर्माको असहमति

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्थायी समितिमा पेस भएको नेताहरुको कार्यविभाजनलाई लिएर असहमति प्रकट गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आज बुधबार सम्पन्न स्थायी समिति बैठकमा उनले प्रस्तावित कार्यविभाजन र सेती महाकालीमा देखिएको विवाद समाधानको निर्णयमा असहमति प्रकट गरेका हुन् ।

बैठकपछि उपमहासचिव शर्माले भने, ‘कार्यविभाजन सही भएन, पार्टी निर्माणको उद्देश्यअनुरुप भएन, विधान अधिवेशनको ‘ह्याङओभर’ लाई लिएर कार्यविभाजन गरियो । विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफूलगायत अन्य नेतालाई कार्यजिम्मेवारीविहीन बनाइएको छ ।’ सुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाइएकोलगायत मुद्दा, त्यहाँको दलभित्रको विवादलाई टुङ्ग्याउने निर्णय सन्तुलित र न्यायपूर्ण नभएको भनी आफूले असहमति राखेको उनले जानकारी दिए ।

आफूले राखेको असहमतिलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले सहजरुपमा लिएको उनले बताए । उनले भने, ‘पार्टी अध्यक्षले असहमतिका विषयलाई पार्टीभित्र राख्न पाइन्छ, स्वागत छ । मैले असहमतिका विषय सम्पूर्ण नेतृत्वलाई बुझाएको छु ।’ उपमहासचिव शर्माले बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे समीक्षालगायत पार्टीको आन्तरिक जीवनमा कार्यविभाजनका सन्दर्भमा छलफल भएको जानकारी दिए ।