skip this वडा नं १६ बालाजु च:मती

तनहुँका दुग्ध उत्पादक किसान आन्दोलनमा

तनहुँका दुध उत्पादक किसानहरु आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलनमा उत्रेका छन् । तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाइमा थालिएको आन्दोलनअन्तर्गत जिल्लाका दुध उत्पादक कृषकहरूले तनहुँको सदरमुकाम दमौलीको भोर्लेटार चोकमा आज बिहिबार बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा राजमार्ग अवरुद्ध गरेका थिए ।

मिल्क होलि डे बन्द गर्नुपर्ने, आयतित दुध तथा दुग्धजन्य पदार्थलाई पूर्णरुपमा बन्द गराई स्टक रहेको दुग्धजन्य पदार्थ नेपाल सरकारको कुटनैतिक पहलद्वारा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरणको प्रबन्ध गर्नुेपर्ने, दुग्ध उत्पादक कृषकलाई यस पेशामा जोगाईराख्न कृषि कर्जा अनुदान कार्यक्रम विगतका वर्षमा झै यथाशिघ्र उपलब्ध गराउनुपर्ने माग राखि कृषकहरु आन्दोलनमा उत्रिएका छन् ।

लागत मूल्य घटाउने कार्यक्रममा लिटर अनुदान कम्तीमा पाँच रुपैयाँ लागू गर्नुपर्ने, पशु आहार, पशु औषधी सम्बन्धी पशुपालनसँग सम्बन्धित बस्तुको मूल्य राज्यले अविलम्ब नियन्त्रण गर्नुपर्ने, बिमा कार्यक्रमलाई प्रथामिकतामा राखी बिमाको रकम उपलव्ध गराउन बिमा रकम भुक्तानी सहज बनाउनुपर्ने, निर्यातित दुग्धजन्य पदार्थहरुमा अनुदानको व्यवस्था अविलम्ब गर्नुपर्ने र दुध तथा दुग्धजन्य पदार्थ निर्यातको लागि खोरेत लगायतका रोगहरुको उन्मुलन गर्नुपर्ने माग उनीहरुको रहेको छ ।

कृषकको माग पूरा गर्न फागुन १४ गते जिल्ला प्रशासन कार्यालयमा धर्नासहित ज्ञापनपत्र बुझाईएको भएपनि सरकारले सुनुवाई नगरेकोले आन्दोलन गर्नुपरेको दुग्ध उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । तनहुँका कृषकले मात्रै पाँच करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको र देशैभरका कृषकहरुले आठ अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी रहेकोले दुग्ध उत्पादक सहकारी सङ्घसँग आवद्ध ६४ जिल्लाका कृषकहरु आन्दोलनमा उत्रिएको अध्यक्ष कुँवरले बताए ।

किसानको उत्पादनको बजारिकरण राज्यले गर्नुपर्ने भएपनि वास्ता नगरेकोले आन्दोलनमा उत्रिएको व्यास नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले बताए । तनहुँ सहकारी सङ्घका अध्यक्ष प्रदीपराज अधिकारीले कृषकको समस्या समाधान गर्नुपर्छ भनेर एक्यवद्धताको लागि आन्दोलनमा आएको बताए ।