महरा कपिलबस्तुबाट पक्राउ, जहाजबाट ल्याइयो काठमाडौं

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष समेत रहेका कृष्णबहादुर महरा आज बिहान कपिलवस्तुबाट पक्राउ परेका छन् । उनलाई आजै भैरहवाबाट जहाजमा काठमाडौं ल्याइएको छ ।

महरा साढे चार वर्षको अवधिमा दोस्रो पटक पक्राउ परेका हुन् । उनी फरक फरक मुद्दामा पक्राउ परेका हुन् । पहिलो पटक पक्राउ पर्दा उनी १३३ दिन थुनामा बसेका थिए । पूर्वसभामुख समेत रहेका नेता महरा पहिलो पटक २०७६ साल असोज १९ गते बलात्कार आरोपमा काठमाडौँबाट पक्राउ परेका थिए । दोस्रो पटक आज सोमबार उनी रुपन्देहीको भैरहवाबाट पक्राउ परेका हुन् ।

०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप)मार्फत ल्याएको नौ किलो सुन तस्करी प्रकरणमा महराको कनेक्सन देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महराको बयान कागज गराए पनि प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो । चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ महराले यसअघि अनुसन्धान अधिकृतहरुसँग बताएका थिए । सीआईबीका अनुसन्धान अधिकृतहरूसँग महराले चिनियाँ सुन तस्कर दाओजिन वाङसँग आफ्नो पुरानो चिनजान रहेको भने स्विकारेका थिए ।

यसैगरी सो प्रकरणमा महरासँग सुन तस्करी जाँचबुझ आयोगले पनि बयान लिएको थियो । जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै सीआइबीमा पुगेपछि महरा पक्राउ परेका हुन् । जुन प्रतिवेदनमा महराविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ । नेता महराका छोरा राहुल पनि सोही प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् ।