कृष्णबहादुर महरा हाजिर जमानीमा छुटे

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले जिल्ला सरकारी वकिलसँग पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिर जमानीमा रिहा गर्न सहमति मागेसँगै उनी छुटेका छन् । इलेक्ट्रिक चुरोट(भेप)मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले यही चैत ५ गते पक्राउ गरेको उनलाई स्वास्थ्य अवस्थाका कारण हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो ।

यसअघि उनलाई हाजिर जमानीमा छाड्न अनुसन्धान अधिकृतले जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीसँग सहमति मागेको थियो । जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले सो मुद्दा हेरिरहेका थिए । सीआईबीका अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिए । स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधवार र बिहीबार माइतीघरस्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ल्याएर बयान गराएका हुन् ।

२०७९ पुस १० गते चिनियाँ नागरिक लि हासोङ्गले सात सय ३० थान इलेक्ट्रिक चुरोटमा लुकाएर ल्याएको सुनमा महरा संलग्न भएको आशंकमा सीआईबीका अनुसन्धान अधिकृतहरूले प्रश्न गरेका थिए । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष समेत रहेका महरा स्वास्थ्य अवस्था जटिल रहेकाले धेरै औषधी सेवन गरिराखेको जनाइएको छ ।