खेल नीति परिमार्जन गर्न आवश्यक छ: मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद नीति परिमार्जनका लागि मन्त्रालयले काम गरिरहेको बताएका छन् । नेपाल ओलम्पिक कमिटी(एनओसी)ले शुक्रबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले पुरानो नीतिका कारण खेलकुद क्षेत्रको विकास सोचजस्तो हुन नसकेकाले नीति परिमार्जनका लागि मन्त्रालयले काम गरिरहेको बताए ।

उनले भने, ‘नीतिलाई माथि राखेर काम गर्नसके खेलाडीको अधिकार संरक्षण हुन्छ ।’ व्यक्ति केन्द्रित नीतिभन्दा पनि खेलकुद केन्द्रित नीतिको विकास अहिलेको आवश्यकता रहेको उनको भनाई थियो । उनले अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुरुप काम गर्न सके ओलम्पिक कमटीको जिम्मेवारी धेरै रहेको उल्लेख गरे । ओलम्पिक कमिटीले खेलमार्फत कुटनीतिक विकासका क्षेत्रमा काम गर्नुपर्ने उनको भनाई थियो । मन्त्री श्रेष्ठले खेलकुदमार्फत युवाको निराशालाई कम गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले अस्थिरताका कारण नेपालको खेलकुद क्षेत्रलाई परिणाममुखी बनाउन नसकेको बताए । उनले ओलम्पिक कमिटीले खेलकुदमार्फत नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा जोड्दै आएको उल्लेख गरे ।