काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–२ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ३६ वर्षीय मिङमार लामा र लम्जुङ मध्य नेपाल नगरपालिका–५ घर भई ललितपुर, ललितपुर महानगरपालिका–२५ मगरगाउँ बस्ने ३६ वर्षीय प्रकाश वंशी ठकुरी रहेका छन् । पक्राउमध्ये मिङमारले क्रोएसिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको र प्रकाशले पोर्चुगल पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ११ लाख २७ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मिङमारलाई काठमाडौं बौद्धबाट र प्रकाशलाई काठमाडौं बालुवाटारबाट पक्राउ गरको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

















