दाहसंस्कार गरी फर्कदा आमाको मृत्यु, छोरा बेपत्ता

काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सडकबाट त्रिशुली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन । दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी दिए । मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन् ।

सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन् । उनको खोजीका लागि सशस्त्र प्रहरी बल कुरिन्टारबाट गोताखोरको टोली परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी श्रीराम भण्डारीका अनुसार मृतकहरू एउटै परिवारका हुन् ।

स्थानीयका अनुसार गोरखा नगरपालिका–७ का ३९ वर्षीय शंकर रोकायाको हिजो उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो । उनी त्रिशूलीमा बेपत्ता भएका १८ वर्षीय दिवसका बाबु हुन् । दुर्घटनामा परी मृत्यु भएका ७० वर्षीय जुनमाया रोकाया शंकरकी आमा हुन् । छोराको निधन भएपछि काठमाडौं पुगेकी थिइन् । हरिमाया र अन्जना उनकी छोरी हुन् । स्थानीयका अनुसार ट्याक्सी चालक जुनमायाका ज्वाइँ हुन् भने ९ वर्षीय बालक पनि छोरीपट्टिका नाति हुन् ।