प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
सोमबार गोप्य सूचनाका आधारमा प्रहरीले २७ लाख ७५ हजार नौ सय ७० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका बस्ने २४ वर्षका कमर राजा र लालबन्दी नगरपालिका घरभई मलङ्गवा नगरपालिकास्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षका आरिफ अन्सारी छन् । प्रहरीका अनुसार मलङ्गवा नगरपालिका–९ बाट १० लाख र लक्ष्मी सनराइज बैंकको खातामा नौ लाख ९० हजार रुपैयाँ जम्मा गर्ने दुईवटा भौचरसहित उनीलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविनकुमार कार्कीले राजालाई पैसासहित पक्राउ गरिएको हो । साथै, राजासँग सोधपुछ गर्ने क्रममा उनले उक्त पैसा अन्सारीको भनेपछि प्रहरीले अन्सारीको मोबाइल पसलमा समेत छापा मारेको थियो । पसलबाट स्रोत नखुलेको १७ लाख ७५ हजार नौ सय ७० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा एक हजार रुपैयाँ दरका एक हजार चार सय ५४ थान, पाँच सय दरका छ सय २२ थान, एक सय दरका एक सय नौ थान, ५० रुपैयाँको एक थान र २० रुपैयाँको एक थान नेपाली नोट बरामद गरेको हो । पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरुले अवैध हुण्डी कारोबार गरेको आशङ्कामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञावालीले जानकारी दिए ।
दुबैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनको भनाइ छ । उनीहरुलाई प्रहरीले आइतबार नै पक्राउ गरेको भए पनि सोमबार बिहानमात्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो ।


















