पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन् ।
स्थानीयले श्रीमान्–श्रीमती नै मृतावस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए । स्थानीयको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । उनले भने, ‘घटनाको प्रारम्भिक अवस्था हेर्दा शङ्कास्पद देखिएको छ । पोखराबाट चिकित्सकसहितको टोली बोलाएर थप अनुसन्धानपछि मात्र घटनामा यकिन विवरण आउने छ ।’
जलजला गाउँपालिका–२ का वडाअध्यक्ष प्रकाश जिसीले घरभित्रै हत्या भएको जस्तो प्रकृतिमा दम्पतीको शव बिहान ९ बजे भेटिएको जानकारी दिए । उनका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आएका थिए । दुवै जना रगताम्य अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



















