विभिन्न देश पठाइदिने भन्दै छ करोडबढी ठगी गरेको आरोपमा तीन जना पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै छ करोड १९ लाख ३२ हजार रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–७ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने ३७ वर्षीय केदार चौधरी, बाँके कोहलपुर नगरपालिका घर भई हाल काठमाडौँ टोखा बस्ने ३२ वर्षीय जीवराज केसी र म्याग्दी गाउँपालिका घर भई हाल कास्की पोखरा महानगरपालिका लेकसाइड बस्ने ३८ वर्षीय नन्ददेवी पुन रहेका छन् ।

केदार चौधरीले युके पठाइदिने भन्दै ३०/३५ जना व्यक्तिबाट नौ लाखदेखि २० लाख रुपैयाँसम्म उठाई भारतका विभिन्न स्थानमा आइआरआइएस एक्सप्रेस कन्सल्टेन्सीमार्फत काम गर्ने भनी अजरबैजानसम्म पुर्याई पीडितबाट करिब छ करोड रुपैयाँ लिई फरार भएका थिए । त्यसैगरी जीवराज केसीले फ्रान्स पठाइदिने भन्दै ११ लाख ६५ हजार ठगी गरेको र नन्ददेवी पुनले युके पठाइदिने भन्दै सात लाख ६७ हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरुलाइ सोमबार पक्राउ गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।