प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानहरुले लामो समयदेखि दूधको मूल्य नपाइरहेको भन्दै उनीहरुलाई समयमै भुक्तानी गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । उनका अनुसार देशभरीका दुध उत्पादक किसानको पाँच अर्ब भुक्तानी गर्नुपर्ने र मकवानपुरका किसानलाई मात्रै ६० करोडभन्दा बढी भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ ।
उनले खेतिपातीको सिजन सुरु भइसकेकाले किसानलाई सहज रुपमा मल उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराए । त्यस्तै, सांसद माधव सापकोटाले अरनिको राजमार्ग अन्तर्गत जुरे पहिरोदेखि तातोपानी लिपिङसम्मको सडकखण्डको यात्रा कष्टकर रहेको र बर्खामा त झनै कष्टकर हुने भन्दै सडक मर्मत अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँदै सरकारले दूध उत्पादन किसानलाई चाँडो भुक्तानी गर्न माग गरे ।


















