लुकुमाद्य: र पिचास चतुर्दशी

— अच्युतप्रसाद पौडेल ‘चिन्तन’

धेरैलाई थाहा नहुन सक्छ, पशुपतिमा पन्चबलि दिइन्छ भनेर । हरेक पूर्णिमामा पशुपतिमा महाभोग लगाउँदा दक्षिणतिर रहेका कीर्तिभैरवलाई पाँच बलि दिने चलन छ । आफूले महाभोग स्वीकार गर्नुअघि भोलेबाबाले कीर्ति भैरवलाई पहिले सन्तुष्ट गराउनू भन्ने अर्थमा यसो गरिएको हो ।

बेलुकी हरेक पूर्णिमामा पशुपतिको अघोर रुपदेखि कीर्तिभैरवसम्म धागो जोडेर पशुबलि दिइने गरिन्छ । त्यसो त शिबलाई पहिले पार्वतीले माँसभक्षण गर्न आदेश जारी गरिछन् । पारिबारिक विवदमा परेका शिवले पिचासको रुप लिएर माँसभक्षण गर्ने क्रममा लुकेर फोहोरमा बसी पिचासको रुप लिएर वर्षमा एक दिन माँस, मदिरा सेवन गर्दै अनौठो संस्कृति पिचाश चतुर्दशी तय भएको हो र यो पर्व घोडेजात्राको अघिल्लो दिन चैत्र कृष्ण चतुर्दशीमा काठमाडौंमा मनाइन्छ, यसपालि परेको छ चैत्र २५ गते ।

घोडेजात्रा पर्व ०८० चैत्र २६ गते सोमबार हो । त्यसदिन बिहानै नबोली नुहाएमा धेरै पुण्य कमाउने सकिने सोमबारे औँसी पनि परेको छ । हरेक वर्ष चैत्रकृष्ण औँसीमा पर्ने यो विशेष पर्वलाई अश्वकला प्रदर्शन बा घोडादौड प्रतियोगिताका रुपमा लिइन्छ । नेपाली सेनाले राजधानी टुँडिखेलमा मनाउने यो एक किसिमको राष्ट्रिय उत्सव नै हो । राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत धेरैको उपस्थितिमा हुने यो जात्रा हेर्न टाढा टाढाबाट समेत दर्शकहरुको ठूलै उपस्थिति हुने गरेको छ ।

यहाँको परम्परागत संस्कृति अनौठो छ हाम्रो । काठमाडौँमा मनाइने घोडेजात्राको अघिल्लो दिन चैत्र कृष्ण चतुर्दशीलाई पिशाच चतुर्दशी भनिन्छ । फागु पर्वको समापनपछि चैत्रकृष्ण अष्टमीका दिन पशुपति क्षेत्रवाट एक शिवलिङ्ग ल्याई काठमाडौंको ब्रह्मटोलको बुद्ध बिहारमा राखी ‘लुकुमाद्य: अर्थात् नेवारी परम्परा अनुसार लुकेका देवता भनी पिशाच चतुर्दशीमा स्नान गराई तामसी खाना खुवाउने गरिन्छ । यस दिन शिव गण प्रेत, पिशाचहरुलाई पूजाआजा गरेमा देशैभरि रोग, व्याधि, कष्ट, हैरानी व्यहोर्नु नपर्ने हुनाले यसो गरिएको हो । विज्ञान हिजोअस्ति मात्रै आएको हो । हाम्रो धर्म, संस्कृति परम्पराले धेरै विषय अहिलेसम्म निर्देश गरेको अबस्था छ ।

काठमाडौं नक्साल भगवती, पशुपतिको वत्सला, जयवागेश्वरी र चाबहिल गणेशस्थानमा विशेष जात्रा मनाइने पिशाच चतुर्दशीका दिन काठमाडौंका पुराना नेवारहरुले ‘पाशाचह्रे’ पर्व मनाउँने गर्छन् । प्रत्येक टोल, बस्तीमा महादेव लुकेर बसेका छन् भनी घर, आँगन सफा सुग्घर गरी टोल सुरक्षार्थ रहेका क्षेत्रपाल स्वरुप शिवको आराधना गर्छन् । एकपटक शिव परिबारमा ठाक्ठूक् परेछ, अर्धाँगिनी पार्वती रिसाइछन् र उनले भोले बाबालाई ‘तिमीले मांसाहार गर’ भनिछन् । भोलेबाबाले पनि पिशाचको रुप लिएर मांसाहार गर्न थालेछन्, त्यही सम्झना स्वरुप यस दिनलाई पिशाच चर्तुदशी भनिन थालियो ।

काठमाडौं क्षेत्रमा धेरै देव देवीहरु छन्, असंख्य मूर्तिहरु पनि । नक्साल भगवती र जय वागेश्वरी देवीलाई दिदी वहिनीको रुपमा लिइन्छ । चैत्र मासमा यहाँ विशेष जात्रा हुने गर्छ । प्राचीन इतिहासअनुसार काठमाडौंकै नरदेवी, म्हैैपी, भद्रकाली, असनकी देवी, सङ्कटा, आदि पनि एकै सन्तति हुन् । एकै सन्तान मध्ये काठमाडौंकै लुतेदेवी र उनको परिवार गरिव रहेछ पहिले । दिदी वहिनीहरुले भोज भतेर गर्ने, मीठा, रसिला खाना खाने, खुवाउने, राम्रो गर्ने तर लुते देवी भने आफ्नो गरिवीको कारण यसो गर्न नसकेकोमा चिन्तित भइछन्, एकपटक । अपमान समेत खेपेकी लुतेदेवीले एक दिन आफ्नो खानेकुरामा सर्प देखिछन् र विषालु खाना सबै फाल्न लाग्दा खाना फालेको ठाउँ वरिपरि सवै ठाउँ सुनै सुनको भएछ र त्यही सुनका कारण अरु सरह आफू पनि धनाड्ये भइछन् ।

उता दिदी बहिनीहरुले पालैपालो आफ्नो तडक भडक देखाउदै गरेछन्, देखासिकीकै कारण लुतेदेवीले पनि आफ्नो छुट्टै जात्रा चलाउन थालिछन् । यसै क्रममा आएको हो पशुपतिको अर्को पर्व बाला चतुर्दशी, धानले धनी हुने महिना मंसिर कृष्ण चतुर्दशी । यसै क्रममा काठमाडौँमा थपिएको हो चैत्र कृष्ण चतुर्दशीमा मनाइने भनौँ पाशाचह्रे पर्व । चैत्र शुक्ल पूर्णिमादेखि बज्रयोगिनीको जात्रा गराइन्छ, काठमाडौँको साँखुमा । एक हप्तासम्म चल्छ यो, धेरै नेवारी परम्पराअनुसार हुन्छन् यहाँ र एक हप्तासम्म टाढाका आफन्तलाई बोलाई भोज खुवाउने चलन छ । खटमा राखेर धूमधामका साथ माईलाई बजारमा ल्याइन्छ र एक हप्तासम्म बजार परिक्रमा गराइन्छ, यसो गर्दा त्यो सहर पूर्ण सुरक्षित हुने विश्वास छ ।

टुँडिखेलमा मनाइने घोडेजात्रा कहीँ अन्यत्र नभएको जात्रा हो । यो जात्रा देखाएरै काठमाडौँको टुँडिखेलसँगै, नजिकै रहेकी भद्रकालीलाई खुसी गराउने चलन छ । हनुमान ढोका परिसर वसन्तपुरको कुमारी घरबाट जीवित देवी स्वरुप कुमारीलाई घोडचढीहरु सहित बग्गीमा राखी टुंडिखेल ल्याइन्छ । उनै देवीलाई सम्मानका साथ सेनाद्वारा सलामी चढाइन्छ र घोडा दौड प्रदर्शनी शुरु गरिन्छ । अश्वकलाको प्रदर्शनी भनौँ घोडेजात्रा नेपाली सेनाद्वारा गराइने प्रचलन हो । घोडेजात्राको चलन चलेपछि काठमाडौंका राजाले भद्रकालीमा चैत्र कृष्ण औंसीका दिन विहानै दर्शन गर्ने परम्परा बसेको हो । पहिलेका राजा, महाराजाहरु त्यतिवेला भद्रकालीको दर्शन गर्न जाँदा घोडामा जाने गर्थे । एक पटक यहाँका प्रधानमन्त्री विदेश गएछन् । विदेशमा अश्वकला अर्थात् घोडादौड देखेछन् र फर्केर प्रधानमन्त्री जुद्धशमशेरले यहाँ घोडेजात्रा सुरु गराएछन्, त्यही हो परम्परा अहिले धानिँदैछ ।

त्यति बेला काठमाडौँ वरपर टुँडी नामको राक्षसले दु:ख दिने गर्दथ्यो, अबोध साना बच्चाहरु खाइदिने, उसको राक्षसी शैलिले जनता निराश थिए । सवै मानिसहरु मिलेर टुँडीलाई समाती चौरमा खाल्डो खनी जिउँदै गाडे । यसको अब टुंडिखेल नाम रह्यो । टुँडी नामको राक्षसबाट फेरि कसैलाई अनिष्ट नहोस् भनी त्यहाँ घोडचढी प्रतियोगिता गर्ने गरियो । कृष्ण यात्रा, गोरखकाली, मनकामना, गोरखनाथ, मत्स्येन्द्रनाथ, बज्रयोगिनी, खड्गयोगिनीको उपासना अझै भइरहेकै छ । शास्त्रीय भनाइमा कुनै रथयात्रा, अश्वयात्रा, गजयात्रा, गो यात्रा गरेको यस्तो ठाउँ सदाको लागि पवित्र हुन्छ, कोही, कतैबाट पीडा हुँदैन भन्ने मान्यता छ ।

अघि भारतको कामरु कामाक्षबाट काठमाडौँका शाश्वतबज्र नामका तान्त्रिकले तन्त्र साधनाबाट त्यहाँकी भद्रकालीलाई काठमाडौंसम्म ल्याए । ल्याउने क्रममा केही बेर भद्रकालीलाई उनले हालको जमल नजिक बाटैमा राखे । शौच गर्न गएका उनीबाट देवी रिसाइन्, जमिनमा त्यसै राख्नु नहुने भनेर । देवीलाई उठाउन खोजियो, तर सकिएन र देवीले भनिन् ‘यो ठाउँबाट फेरि आफू अन्यत्र नसर्ने’ । शाश्वतबज्रको आफ्नो धोको पूरा भएन, उनको इच्छा पूरा हुने नदेखेर उनले भद्रकालीलाई निवेदन गरेर भने कि ‘हे देवी मैले अन्यत्र कतै नचलाइएको जात्रा घोडेजात्रा यहाँ चलाइदिन्छु केही पर खालि स्थानमा तिम्रो मूर्ति सजाउँछु, कृपया यहाँबाट उठिदेऊ’ । यसरी देवीलाई फकाए उनले र फकाएर भद्रकालीलाई जमलबाट उठाई टुँडिखेलसंगै राखे । र, वर्षमा एक दिन घोडेजात्रा चलाउने चलन त्यसै बेलादेखि चलेको हो ।