पश्चिमा राष्ट्रहरु विशेषत: अमेरिका आफ्नो परम्परागत नीतिमार्फत दक्षिण एशियालाई आफ्नो प्रभाव क्षेत्र बनाउन प्रयत्नरत छ । दक्षिण एशियालाई आफ्नो प्रभावमा नपारेसम्म संसारको कुनै पनि शक्ति राष्ट्र प्रभावशाली बन्न सक्दैन भन्ने तथ्यलाई हृदयंगम गरी विश्व विजेता अंग्रेजले भारतीय उपमहादिपमा आफ्नो जरा गाड्यो । जर्मन, फ्रान्स र बेलायत बीचको युद्ध अझ प्रथम र दोस्रो विश्वयुद्ध वास्तवमा एशियामा कस्को प्रभुत्व कायम रहने भन्ने विषयमा नै केन्द्रित थियो । जसका लागि अंग्रेजले फुटाउ र राज गर भन्ने नीति अख्तियार गर्यो । भाषा, धर्म, जात, संस्कृतिको नाममा अंग्रेजले एशियाली राष्ट्रलाई फुटाउने, मिल्न नदिने, कमजोर बनाइराख्ने र आफ्नो स्वार्थ पूरा गर्ने नीति दोस्रो विश्वयुद्धको उत्तराद्र्धसम्म चलिरह्यो । दोस्रो विश्वयुद्धको समाप्तीपछि विश्व रंगमंचमा देखापरेको अमेरिकाले पनि परम्परागत पश्चिमी नीतिलाई नै अख्तियार गर्यो । शितयुद्धताका वाद र विचारको नामले एशिया, दक्षिण–पूर्व एशिया र दक्षिण एशियामा प्रवेश गरेको अमेरिका शितयुद्धपश्चात विकास, सहयोग र साझेदारीको नाममा क्रियाशिल रहेको छ ।
पूर्विय सभ्यताको केन्द्र भारतवर्ष र चीनमा अंग्रेजले गरेको शोषण, संशाधनमाथिको दोहन चिनियाँ र भारतीय नागरिकले बिर्सिसकेका छैनन् । लामो संघर्ष, त्याग र बलिदानमार्फत भारत र चीन अंग्रेजको चंगुलबाट मुक्त बने । एशिया, त्यसमा पनि दक्षिण एशिया वैदिक कालदेखिनै मानव संसाधन, पूँजी र प्रविधिको केन्द्रको रुपमा रहेको थियो । पश्चिमा विद्वानले महत्वपूर्ण ज्ञान–विज्ञान पूर्वबाट नै प्राप्त गरेको तथ्य ख्यातीप्राप्त विद्वानले बताइसकेका छन् । यसरी पूँजी, प्रविधि, मानवसंशाधन र प्राकृतिक स्रोतले भरिपूर्ण दक्षिण एशियामा भाइचारा, भातृत्व र आत्मियता बढी एक आपसमा मिलेको अवस्थामा संसारमा हैकम चलाइरहेको पश्चिमी राष्ट्र, पश्चिमी दर्शन र विशेषत: अमेरिकी प्रभृत्वमा खतरा देखिने हुनाले पश्चिमा राष्ट्रहरु, पूर्वी देशहरुलाई एकजुट हुन दिइरहेका छैनन् ।
शितयुद्धताका र सन ९० को दशकसम्म चीनसँग नजदिकी बढाई भारत–चीनबीच दुरी कायम गर्न सफल अमेरिका २००० को दशकपछि चीनसँग दुरी कायम गर्ने र भारतसँग नजिकिने नीति साथ अगाडी आएको छ । यसै नीति परिपूर्तिको लागि र आईपीएस, एसपीपी, एमसीसी, क्वाडलगायत थुप्रै रणनैतिक नीतिमार्फत चीन–भारतबीच दुरी कायम गराउने र आफ्नो स्वार्थ पूरा गर्ने नीतिमा उ क्रियाशिल छ ।
सन २०१० को दशकमा भारत र चीन दुबै देशमा पूर्विय दर्शनको महत्व बुझेका र राष्ट्रवादी छवि भएका दुई नेता सि जिङ्ग पिङ्ग र नरेन्द्र मोदीको उदय भयो । सी–मोदी बीचको सामिप्यता र दक्षिण–एशियालाई आगामी शताब्दिको केन्द्र बनाउने उद्देश्यका साथ एकजुट भएका दुई उदयीमान नेताको सामिप्यताले अमेरिकी स्वार्थमा चोट पुग्न गयो । फलस्वरुप चीन–भारत तथा सी–मोदी बीच दुरी कायम गराउन अमेरिका तत्पर देखियो । पुन:फुटाउ र राज गर नीति अन्तर्गत भारत–चीन दुरी कायम गर्ने कार्यमा उ लागिरहेको छ । भारत र चीनका नेतृत्व विगतको अंग्रेजी साम्राज्यवादको पीडाबाट भलिभाँती परिचित छन् ।
विद्वानहरु सन् २०२५ पछि संसारमा राजनैतिक ध्रुविकरण र विश्व संरचनामा फेरबदल हुने संकेत गरिरहेका छन् । यो तथ्यबाट पश्चिमा राष्ट्र बेखबर छैन । दक्षिण पूर्व–एशिया, विश्व संरचनामा हुने फेरबदल पछिको अवस्थामा अन्तर्राष्ट्रिय नेतृत्व लिन सक्षम भैसकेको छ । यस अवस्थामा दक्षिण एशियाका प्रमुख दुई राष्ट्र चीन र भारत एक ठाउँमा आएमा पश्चिमी स्वार्थमा आघात पुग्ने देखि यिनीहरु बीच दुरी कायम गर्न पश्चिम दत्तचित्त छ । यस परिस्थितिमा भारत र चीनका राजनेताले पूर्विय सभ्यता, दर्शन र पद्वतिलाई केन्द्रमा राखि सानातिना मतमतान्तरलाई थाँती राख्दै नजिकिनुको विकल्प छैन ।
सहायक स्वार्थभन्दा प्रमुख स्वार्थलार्ई केन्द्रमा राखि दक्षिण एशियाको स्थिरता, समृद्धि र शान्तिको लागि सी–मोदी मिल्नु अपरिहार्य छ । यदि सी–मोदीबीच दुरी कायम गर्न पश्चिम सफल भएमा पुन:दक्षिण एशिया पश्चिमा राष्ट्रको क्रिडास्थल बन्ने छ । जसले न भारतको न चीनको न त दक्षिण एशियाकै भलो गर्ने छ । यदि कसैको भलो हुन्छ भने त्यो नितान्त पश्चिमा राष्ट्रको । तसर्थ सी–मोदीको नजदिकी आजको आवश्यकता हो, यसमा दक्षिण एशियाली राष्ट्रले पहल गर्नु पर्दछ ।

















