दाङको घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त छन् । करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आएका हुन् ।
घरको काम सकेर बचेको समय यही व्यवसायमा उनीहरुको दैनिकी बित्ने गरेको छ । यस सहारा दुनाटपरी लघु उद्योगमा स्थानीय १० महिलाले पनि नियमित रुपमा काम गर्दै आएका छन् । उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्दै भन्छिन्, ‘अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ । बजारीकरणका लागि त्यति समस्या हुँदैन ।’
उनले भनिन, ‘पहिले घरको चुलोचौकोमा आफूसँगै अरू दिदीबहिनीहरुको दिन बित्थ्यो, अहिले भने उद्यागेले सीपसँगै आम्दानी पनि राम्रो दिएको छ । अहिले घरको सबै काम सकेर श्रीमान्ले पनि सहयोग गर्ने भएको हुँदा झनै सहज हुने गरेको छ ।’ उनको दम्पतीले मासिक १५ हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । दुनाटपरी व्यवसायमा जोडिएका अन्य महिलाले पनि मासिक १०/१२ हजार आम्दानी गरिरहेका छन् । चाडपर्वको समयमा मागअनुसारको बजार पुर्याउन समस्या हुने उनको भनाइ छ । मेहनत र दु:खअनुसारको मूल्य पाउन नसक्दा समस्या हुने गरेको उनले सुनाइन् । उत्पादित ठूलो बौत्तालाई साढे दुई र एक सय वटा भएको प्याकेटलाई साढे दुई सय रुपैयाँमा बिक्री हुने गरेको छ ।
यसैगरी, टपरी पाँच रुपैयाँका दरले बिक्री हुने गर्दछ । दुनाटपरी उद्योगमा दुई मेसिनमार्फत उत्पादन गरिन्छ । उद्योगमा मेसिन चलाउन, वनबाट पात टिपेर ल्याउन श्रीमतीलाई सहयोग गर्दै आएको शान्तिका श्रीमान् खुशीरामले बताए । घरमा दुवै जना मिलेर काम गर्दा सहज हुने गरेको उनको अनुभव छ । मेसिन बिग्रेमा कुनै सामान लिनुपरेमा भारतसम्म खुशीराम नै जान्छन् । उत्पादन गरेका दुनाटपरी घोराहीका विभिन्न होटल तथा मस्मस् पसलमा पठाउने गरिएको उनको भनाइ छ । कतिपय घरबाटै पनि लिने आउने गर्दछन् । जिल्लामा सञ्चालित मेला महोत्सवमा बढी बिक्री हुने गरेको छ ।
प्लास्टिकबाट बनेका वस्तुको प्रयोग बढ्दै जाँदा वातावरण नै प्रदूषित भइरहेको भन्दै सालका पातबाट बनाइने दुनाटपरीले वातावरणलाई पनि स्वस्थ्य बनाउन यस दुनाटपरी उद्योगले सहयोग पुर्याउँदै आएको खुशीरामले बताए । विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा दुनाटपरी अहिले पनि प्रयोग हुँदै आएको छ । उद्योगमा आवश्यक कच्चापदार्थ सङ्कलनदेखि अन्य कार्यका लागि फुर्सदको समयलाई उपयोग गर्दै राम्रो आम्दानी गर्न सफल भएको दुनाटपरी उद्योगका सदस्य ४० वर्षीया कमला चौधरीले बताइन् । समयको सदुपयोग, सीप र आम्दानी पनि आफूले काम गरेअनुसारको प्राप्त हुने उनले बताइन् । सहारा दुनाटपरी लघु उद्योगका अध्यक्ष शान्तिको प्रयासबाट सञ्चालित उद्योगले स्वरोजगार प्रदान गर्नुका साथै परम्परागत दुनाटपरीको संरक्षण भएको उनको भनाइ छ । खेर जाने सालको पातलाई प्रयोगमा ल्याएर आम्दानीको पाटोलाई बढाउन पाउँदा उनले खुशी व्यक्त गरिन् ।


















