नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव हुने

नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव आगामी मंसिर ५ देखि १४ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । एलाइन्स फर चिल्ड्रेन फिल्म नेपालले कला दिवसको अवसर पारेर महोत्सव गर्न लागेको हो । आयोजक एलाइन्स फर चिल्ड्रेन फिल्म नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै महोत्सवको विभिन्न पक्षबारे जानकारी दिएको छ ।

‘अभिभावक र नानीबाबु सँगसँगै’ भन्ने नारा सहित आयोजना हुन लागेको महोत्सवको लोगो समेत सार्वजनिक गरिएको छ । कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईले महोत्सवको लोगो सार्वजनिक गरेका हुन् ।

विशेषगरी तीनदेखि १८ वर्ष उमेर, अभिभावक र शिक्षकलाई लक्षित गर्दै १० दिने महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा राष्ट्रिय–अन्तर्राष्ट्रिय बाल चलचित्र प्रदर्शन, १८ वर्षमुनिका फिल्ममेकरबीच फिल्मको प्रतिस्पर्धा तथा कार्यशाला, बाल चलचित्र र यसको सामाजिक प्रभावबारे छलफल, जुरीको रुपमा बालबालिकाको समावेश र सहभागिताजस्ता कार्यक्रम छ ।

बालबालिकाको सहभागितामार्फत फिल्मको भाष्य पनि बलियो बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक एलाइन्स फर चिल्ड्रेन फिल्म नेपालका अध्यक्ष केदार श्रेष्ठले बताए ।