विश्व पृथ्वी दिवसको अवसर पारेर स्वयम्भू परिसरमा सरसफाइ

विश्व पृथ्वी दिवस २०२४ को अवसर पारेर युनिभर्सल पिस सेन्चुरीले स्वयम्भू परिसरमा सरसफाइ गरेको छ । काठमाडौंस्थित विश्व सम्पदा सूचीमा रहेका तीन वटा पुरातात्विक सम्पदाहरुको सरसफाई गर्ने कार्यक्रम अन्तर्गत पहिलो दिन शनिबार स्वयम्भू परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।

पृथ्वी दिवसको अवसर पारेर युनिभर्सल पिसमार्फत विभिन्न संघसंस्था तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभगीतामा पहिलो दिनको सरसफाई कार्यक्रम सम्पन्न भएको हो । तीन दिनसम्म संचालन हुने कार्यक्रमअन्तर्गत स्वयंभु महाचैत्य परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।

सरसफाई कार्यक्रममा युनिभर्सल पिस सेन्चुरी तथा श्याल्पो गुम्बाका गुरू श्याल्पा रिन्पोछे, नेपाल सरकारका पूर्व मुख्य सचिव, पूर्व राजदूत लीलामणि पौडेल, काठमाडौं महानगरपालिका १५ का वडा अध्यक्ष ईश्वरमान डङोल, वडा सदस्य बिजु श्रेष्ठ, युनिभर्सल पिसको तर्फबाट संयोजक छोईङ देचेन, फोहर मैला व्यवस्थापन संघका महासचिव, परिवर्तन सेवा प्रालिका प्रबन्धक मित्र प्रसाद घिमिरे, क्लिन ईट अपसाईक्लर्सका प्रमुख कार्यकारी अधिकृत शशी किरन थापा, बागमती अभियान किसोर शाही, श्याल्पो गुन्बाका भिछुहरु, नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिहरुसहित युवा तथा अभियन्ताहरुको ठूलो संख्या जुटेको थियो ।

आइतबार पशुपतिनाथ मन्दिर परिसर र १० गते बौद्ध स्तुपा परिसरमा सरसफाई अभियान रहेको सरसफाई अभियान सवन्मयकर्ता नविन विकास महर्जनले जानकारी दिए । कार्यक्रममा बागमती सफाई महाभियान एवं सम्पूर्ण नदी खोला स्थान अभियानहरुको सहभागिता हुने उक्त अभियानमा कुहिने र नकुहिने फोहोरहरुलाई व्यवस्थित रुपमा फरक फरक ढंगले संकलन गरी व्यवस्थापन गरिने र सरसफाईलाई अभियानकै रुपमा निरन्तरता दिइने बताइएको छ ।

विश्व पृथ्वी दिवस २०२४ को राखिएको नारा पृथ्वी र प्लाष्टिकलाई प्राथमिकता दिएर नेपालमा पनि प्लाष्टिकको अधिक प्रयोगले वातावरणमा धेरै असर परेको, फोहोरमा अत्यधिक मात्रामा प्लाष्टिकको मिश्रणले फोहोर व्यवस्थापन कार्यमा चुनौती भएको जनाउँदै अभियानले यस्ता विषयमा समेत सचेतना अभियान संचालन गर्ने जनाएको छ ।

पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ । यो दिवसमा पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो । यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ ।

सन् १९६९ अमेरिकाको सान फ्रान्सस्किोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । पछि अमेरिकी सीनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । त्यस दिनदेखि प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसारभरी विश्व पृथ्वी दिवस मनाउन थालिएको हो ।

सन् १९९२ मा ब्राजिलको रीयो दी जेनेरीयोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्याएको थियो । त्यपछि सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निणर्य गरेको हो ।