कतारका राजाको भ्रमणमा नेपालमा मंगलबार सार्वजनिक बिदा

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

कतारका अमिरबाट पहिलोपटक यो भ्रमण हुन लागेको हो । कतारका अमिरले नेपालको दुईदिने औपचारिक भ्रमण गर्न लागेका हुन् । अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनुका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन् । कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किएको र त्यस क्रममा उनले फिलिपिन्स, बंगलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताएका छन् । राजदूत अल अन्सारीको अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता हुनेछ ।