अभिनेता विपिन कार्की अमेरिका पुगेका छन् । फिल्म ‘तेल भिसा’ अभिनयका लागि उनी अमेरिका उडेका हुन् । फिल्मका निर्देशक शङ्कर घिमिरे हुन् ।
निर्देशक घिमिरेले विपिनलाई अमेरिकामा स्वागत गरेको तस्बिर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । विपिनको अमेरिका यात्रा यो नै पहिलो हो ।
घिमिरेले लामो समयपछि तेल भिसा मार्फत निर्देशनमा कमब्याक गर्न लागेका हुन् । फिल्मका निर्माता टिकाराम बुढाथोकी हुन् । बुढाथोकीले वेल डन क्रिएसनसँग सहकार्य गर्दै फिल्म निर्माण गर्न लागेका हुन् । अमेरिकामा उनको भेट फिल्मकी अभिनेत्री ऋचा घिमिरेसँग पनि भएको छ । ऋचाले पनि फिल्ममा एउटा महत्त्वपूर्ण भूमिका निवार्ह गर्दै छिन् ।
फिल्ममा विपिन दोहोरो भूमिकामा देखिँदै छन् । उनको अपोजिट गौरी मल्ल र वर्षा राउत दुवै जना देखिने छन् । सुटिङका लागि वर्षा केही दिनमा र गौरी सम्भवत: अर्को हप्ता अमेरिका उड्ने बताइएको छ ।
अमेरिकामा बसोबास गर्ने विभिन्न देशका कलाकारहरूको समेत सहभागितामा फिल्मको छायाङ्कन बैशाख २५ गतेबाट सुरु हुनेछ । मेरिल्याण्ड राज्यका विभिन्न सहरमा ७० प्रतिशत छायाङ्कन हुने फिल्मको बाँकी छायाङ्कन नेपालमा हुनेछ ।


















