काठमाडौंको गोठाटारमा लाल मोहम्मदको हत्या प्रकरणका आरोपीलाई प्रहरीद्वारा गोली चलाई पक्राउ

गएराति ११ बजे वीरगन्ज महानगरपालिका–१६ भुटनदेवीमा प्रहरी चेकिङ चलिरहँदा मोटरसाइकलमा आएका एक व्यक्ति भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जनाएको छ । प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक बब्लु पासवान भनिने गणेश पासवान घाईते भएका छन । पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलका खनुसार ’प्रहरीको चेकिङ हुँदै थियो, उनको साथमा हतियार देखेपछि प्रहरीले रोक्न खोज्यो, तर उनी भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।’उनको खुट्टामा गोली लागेको थियो।

उनको साथबाट प्रहरीले पेस्तोल र लागुऔषध बरामद गरेको छ। पासवान बिआर ०५ एएल ६१३९ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका थिए। एसपी ढुंगेलका अनुसार पासवान २०७९ असोजमा काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मदको हत्या प्रकरणमा संलग्न भनिएको व्यक्ति हुन्।असोज ३ गते साँझ लाल मोहम्मदमाथि कागेश्वरी मनोहरा नगरपालिका– ८ गोठाटारमा उनकै घरबाहिर गोली प्रहार भएको थियो।

गोली लागेर घाइते भएका मोहम्मदको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार क्रममा मृत्यु भएको थियो।उक्त घटनामा बब्लुले हतियार व्यवस्थापन गरेको भनिएको छ। पर्साका एसपी ढुंगेलले बब्लुको साथबाट बरामद भएको पेस्तोल र लागु औषधबारे अनुसन्धान भएपछि काठमाडौं पठाइने जानकारी दिए। लागुऔषध र हतियारको मुद्दा हाम्रोमा हेर्छौं, अरू विषयमा प्रक्रिया अनुसार पठाउँछौं, उनले भने।