नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहित अन्य कम्युनिस्ट दलसँग सहकार्य गरेर आगामी स्थानीय र प्रदेश निर्वाचनमा सहभागी हुने नीतिगत निर्णय भएको बताएका छन्।
सोमबार गोरखाको बाह्रकिलोमा आयोजित कार्यक्रममा उनले एमालेसँग सदन र सडक दुवैमा सहकार्य गर्ने सहमति भएको जानकारी दिए। कम्युनिस्ट शक्तिबीच चुनावी सहकार्य मात्रै नभई एउटै पार्टी निर्माण गर्ने प्रयाससमेत भइरहेको उनको भनाइ छ। कांग्रेस र मधेसकेन्द्रित दलहरूसँग पनि संविधान र संघीयताको रक्षाका लागि मोर्चाबन्दी गर्ने विषयमा छलफल भइरहेको उनले बताए।


















