बंगलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ ।अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश दिएको हो ।वकिलहरूले गर्मीका कारण कैयौं शिक्षकको मृत्यु भएको बताएपछि अदालतले उक्त आदेश जारी गरेको हो । बंगलादेशमा विद्यालयस्तरमा तीन करोड २० लाख विद्यार्थी रहेको अनुमान छ ।
गर्मी कायमै रहेपछि सरकारले अप्रिल २१ देखि एक साताका लागि देशव्यापीरूपमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । जलवायु परिवर्तनका कारण तातो हावा चल्दा देशभर शिक्षक, कर्मचारी र विद्यार्थीहरू बिरामी परेका वा मृत्यु भएका खबरपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको थियो ।
पछिल्लो एक सातामा राजधानी ढाकाको औसत तापक्रम ३० वर्षको औसत तापक्रमभन्दा ४–५ डिग्री सेल्सियस बढी छ । अप्रिलको सुरुदेखि नै अत्यधिक गर्मीका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ । बिहीबारसम्म राजधानीको अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि रहने अनुमान सरकारले गरेको छ ।


















