जापान पठाइदिने नाममा तीन करोडबढी ठगी आरोपमा दुई जना पक्राउ

जापान पठाइदिने भन्दै तीन करोड भन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौं मनहरा नगरपालिका बस्ने ३५ वर्षीय राजन श्रेष्ठ र झापाका ४६ वर्षीय इश्वरी पाण्डेलाई पक्राउ गरेको हो ।

राजनले आफूलाई नारायणबहादुर राई र ईश्वरीले आफूलाई पर्वराज पाण्डे भनेर चिनाएका थिए । उनीहरू दुई जनाले मिलेर नियोनी एजुकेसन प्रालि खोलेका थिए । त्यसको विज्ञापन गरी जापान पठाइदिने कन्सल्टेन्सी भनेर दुई सय १३ जनालाई ठगी गरेका हुन् ।

उनीहरूबाट तीन करोडभन्दा बढी रकम ठगी गरेको भन्दै प्रहरी र वैदेशिक रोजगार विभागमा उजुरी परेका छन् । प्रहरीका अनुसार उनीहरूले जापान पठाइदिने भनेर रकम लिने र त्यसपछि सम्पर्कविहीन हुने गरेको खुलेको छ ।