झापामा १२ को परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण

झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी १८ वर्षकी एनिका अधिकारीमाथि आक्रमण भएको छ । उनलाई दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको छ ।

अधिकारी दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । अधिकारीको पेटमा गोलीको छर्रा जस्ता वस्तु लागेको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार उनको शरीरका दुई ठाउँमा चोट देखिएको र प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी गोली लागेको निष्कर्षमा पुगेको छ । बास्तोलाले भने, ‘आक्रमणकारीको पहिचान भइसकेको छ, नाका सिल गरेर खोजी जारी छ ।’ उनको अवस्था सामान्य रहेको र पेटमा डढेको, दबेको, ददारिएको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ ।