जन्मदिनमा एक करोड बराबरको जग्गा दान

धरान उपमहानगरपालिका—१४ विजयपुरका बृखबहादुर डंगोलले ९०औँ जन्मदिनको अवसरमा एक करोड मूल्य बराबरको जग्गा दान गरेका छन् । उनले ९० वर्ष पुगेको अवसरमा शुक्रबार प्रा.डा.टङ्कप्रसाद न्यौपानेले सञ्चालन गरिरहेको ‘प्रा.डा.टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ र देश सुब्बाले सञ्चालन गरिरहेका ‘भयवाद अध्ययन केन्द्र नेपाल’ लाई एक करोड बराबरको ११ धुर जग्गा प्रदान गरेका हुन् ।

‘प्रा.डा.टङ्क प्रसाद न्यौपानको अध्ययन अनुसन्धान केन्द्र’ पाँच वर्षअगाडी स्थापना भएको थियो भने, देश सुब्बाको भयवाद दर्शनमा आधारित ‘भयवाद अध्ययन केन्द्र’ हालै स्थापना भएको हो । संस्था दर्ता गराए पनि व्यवस्थित रुपमा कार्यालय सञ्चालनका लागि जग्गा र भवन नभएको अवस्थामा डंगोलले जग्गा दान गर्नुभएको प्राडा न्यौपानेले बताए । डंगोलले प्रदान गरेको जग्गा धरान १४ स्थित आदिवासी जनजाति सङ्ग्र्रहालय भवनको पश्चिममा पर्ने रुप्से पोखरीदेखि विजयपुर जाने बाटोमा रहेको छ ।

९० वर्षीय डंगोलले प्राज्ञिक अध्ययन अनुसन्धानका लागि स्थापना भएको संस्थालाई आफूले जग्गा दान गर्न पाउँदा खुसी लागेको बताए । आफूसँग धेरै जग्गा भएर नभई भावी पुस्तालाई अध्ययन अनुसन्धानमा सहजता होस् भनेर आफूले जग्गा दिएको प्रतिक्रिया दिए । डंगोलले धरानका विद्यालय, प्रहरी चौकीलगायत विभिन्न संघसंस्थालाई नगदी र जिन्सी सहयोग गर्दै आएको छ ।