सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयप्रति भारतले आपत्ति जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् ।
उनले शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया दिए । जयशंकरको भनाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले लेखेको छ, ‘हामी स्पष्ट छौं । नेपालसँगको सीमा समस्या समाधानका लागि स्थापित मञ्चमार्फत छलफल भइरहेको छ । दुई देशबीचको सीमा समस्या समाधानबारे छलफल चलिरहँदा बीचमा उनीहरूले एकतर्फी निर्णय गरे ।’
बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो । एक सय रुपैयाँ दरको बैंकको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति समेत दिइसकेको छ ।
नेपालले २०७७ जेठ ७ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । र, जेठ ३१ गते नक्सा अनुसारकै निशान छाप बनाउने प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको थियो । त्यसबेलादेखि नै भारतले उक्त भूभाग आफ्नो दाबी गर्दै आपत्ति जनाउँदै आएको छ ।



















