आज बिहान करिब १० बजे ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित मोबिल स्टोर भएको टहरामा आगलागी हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार मोबिल स्टोर भएको उक्त टहरोमा आलगागी हुँदा तीन जना बालबालिकासहित पाँच जना घाइते भएको र घाइते पाँचै जनाको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ ।
टिनले छाएको टहरोभित्र मोबिल राखेको ठाउँमा आगलागी हुँदा पाँच जना घाइते भएका हुन् । प्रहरीका अनुसार घाइते भएकाहरु दम्पती र उनीहरुको बालबच्चा रहेको प्रारम्भिक जानकारीबाट खुलेको छ । घाइतेमा तीन वर्षकी प्रिया गिरी, आठ वर्षकी एसिला गिरी, १५ वर्षका मीत गिरीका साथै दम्पती सञ्जय गिरी र रुपा गिरी रहेका छन् ।
उनीहरुको शरीरका भाग आगोले जलेको बताइएको छ । प्रहरीका अनुसार केहीबेर अघि भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।



















