सभामुख र राष्ट्रिय सभा अध्यक्षबीच छलफल

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच छलफल भएको छ। उनीहरूबीच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार दिउँसो कुराकानी भएको हो।
सरकारको नीति तथा कार्यक्रम तयारीलगायतका विषयमा सभामुख र राष्ट्रिय सभा अध्यक्षबीच कुराकानी भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ। संघीय संसदको मंगलबार अपराह्न बस्ने संयुक्त बैठकमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा सरकारले संसदीय छानबिन समिति गठन नगरे मंगलबारको बैठक पनि अवरोध गर्ने बताएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार साँझसम्म संसदको गतिरोध अन्त्य गर्ने विषयमा निष्कर्षमा पुगिने बताएका छन्। कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको अडान राखिरहेको छ। तर सत्ता पक्ष संसदीय छानबिनका लागि तयार देखिएका छैनन्।