सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको नेपाली कांग्रेसले अब सडक आन्दोलन गर्ने भएको छ । माग पूरा नभए भोलि मंगलबार पनि सदन अवरोध गर्ने तयारी गरिरहेको कांग्रेसले सहकारीमा बचतकर्ताहरूले गरेको बचत फिर्ताका लागि सदन र सडक दुबैबाट दबाब दिने निर्णय गरेको हो ।
कांग्रेसका भ्रातृ संस्थाहरू सडक प्रदर्शनमा उत्रने भएका छन् । मंगलबार नेपाल महिला संघ र बुधबार नेपाल तरूण दलले काठमाडौंमा प्रदर्शन गर्न लागेका हुन् । यसैबीच, नेपाल महिला संघकी अध्यक्ष उषा रावत मिश्रले दिएको जानकारीअनुसार मंगलबार दिउँसो १:३० बजे शान्तिबाटिका रत्नपार्कमा विरोध र्याली हुनेछ । उनले सहकारीमा देखिएका समस्या दिगो रूपमा समाधान गर्न सरकारसँग माग पनि गरेकी छन् । सहकारी रकम दुरूपयोग गरी अपचलन गर्ने ठगहरूलाई छानबिन दायरामा ल्याई कानूनी कारबाही गर्न सरकारलाई दबाब सिर्जना गर्न विरोध र्याली गर्न लागेको उनको भनाइ छ ।
यस्तै तरूण दलले काठमाडौंको बत्तिसपुतलीमा सोमबार केन्द्रीय समिति बैठक गरेको छ । उक्त बैठकपछि अध्यक्ष विद्वान गुरूङले विज्ञप्ति जारी गर्दै सहकारी पीडित जनताका पक्षमा आन्दोलन सुरू गर्ने निर्णय भएको उल्लेख गरेका छन् । ‘जेठ २ गते मध्याह्न काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म सहकारी ठगीविरूद्ध विरोध र्याली गर्ने निर्णय गरिएको छ,’ अध्यक्ष गुरूङले भनेका छन् ।
यस्तै, नेपाल विद्यार्थी संघ(नेविसंघ) अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति निकाल्दै सहकारीका बचतकर्ताको बचत फिर्ता गराउन सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम घोषणा गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानबिनको दायरामा ल्याई कानुनी कारबाही गर्न माग गर्दछौं ।’
साथै, सहकारी ठगीमा संलग्न सहकारी संस्था, सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानबिन समिति गठन गर्न पनि नेविसंघले माग गरेको छ ।

















