प्रहरीले ट्राफिक प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको हत्यामा संलग्न सात जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आज आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरेको हो ।
प्रहरी जवान घिमिरे खोटाङको मझुवागढी नगरपालिका–१ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका–१०, गोंगबुको गणेशस्थान बस्दै आएका थिए ।
सार्वजनिक गरिएकामा भक्तपुरका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोटका १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाका २१ वर्षीया विपना बसन्ती भन्ने वसुन्धरा कार्की, स्याङ्जाका विजय चौधरी, ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोकका ३० वर्षीय दोर्जे अमृत तामाङ, एकजना १३ वर्षीय नाबालक छन् । प्रहरीका अनुसार उनीहरू हाल बालाजु, जरंखु, मनमैजुलगायत स्थानहरूमा सडकपेटी निर्माण घरहरूमा आश्रय बनाइ बस्ने गरेको खुलेको छ ।
हत्यामा संलग्न व्यक्तिलाई काठमाडौं महानगरपालिका–१६ स्थित अष्टनारायण हलपछि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई एक राउन्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ । घर जाने बाटोको प्राविधिक पक्षहरूको विश्लेषण गर्दा हत्यामा संलग्नहरू विगतमा चोरी, लुटपाट, कुटपिट लगायतका अपराधमा संलग्न व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ ।


















