जिल्ला अदालत धनुषाले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो ।
१६ बैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो । आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।
त्यसैगरी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएको विषय संसद बैठकमा उठाएको छ । आज मंगलबार प्रतिनिधिसभा बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध गरेका थिए ।
कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद पाण्डेले कान्तिपुर पब्लिकेशनका अध्यक्ष सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारीबारे कुरा पनि उठाएका छन् । ‘अहिले भर्खरै सुनिएको समाचारअनुसार कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएको सुनेको छु । कानुनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ, तर आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन । कसैलाई पनि सहँदैन त्यो पनि म दोहोर्याउन चाहन्छु ।’ धनुषा जिल्ला अदालतबाट मंगलबार सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।


















