प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध आइतबार(जेठ १३ गते) सडक प्रदर्शन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय गरेको हो ।
कांग्रेसले सहकारी पीडितको रकम फिर्ता दिनुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने लगायतका माग राखेर सुरुमा उपत्यका केन्द्रित सडक आन्दोलन गर्न लागेको हो । मुलुकभरिका केही दर्जन ठूला सहकारी संस्थाहरूले मात्रै बचतकर्ताको दुई खर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्यहरू सार्वजनिक भएको अवस्थामा पनि सरकार गम्भीर नबनेपछि आन्दोलन गर्नुपरेको कांग्रेसले बताएको छ । विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको कांग्रेसको ठहर छ ।


















