धर्मराज पोखरेल, एक बहुप्रतिभाशाली युवा व्यक्तित्व हुनुहुन्छ । पेशाले इन्जिनियर पोखरेल गायन, राजनीति, कृषि व्यवसाय र समाज सेवामा सक्रिय हुनुहुन्छ । राजनीतिमा नेपाली कांग्रेसबाट मेयरको टिकट पाएर पनि पार्टीको आन्तरिक किचोलोका कारण टिकट फिर्ता गर्नु भएका पोखरेले पछिल्लो संसदीय निर्वाचनमा खोटाङमा प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो । आफ्नो पेशामा राम्रो दक्षता राख्नु हुने पोखरेलको काठमाडौं र खोटाङ्गमा विजय इन्जिनियरिङ कन्सल्टेन्सी संचालनमा छ । लोक गायनमा समेत उत्तिकै सक्रिय पोखरेलका खोटाङमध्ये बसेरी लगायत दर्जनौं चर्चित गितहरु छन् । पछिल्लो समय विजय अर्गानिकमार्फत कृषि व्यवसायको आधुनिकीकरणमा सक्रिय पोखरेल अर्गानिक खेती र भान्सामा अर्गानिक परिकारलाई बढवा दिने अभियानमा हुनु हुन्छ । किसानले उत्पादन गरेका अर्गानिक वस्तुको बजार प्रवद्र्धन र उपभोक्तालाई अर्गानिक खाना खुवाउने उद्देश्य सहित उहाँले काठमाडौंको बढानिलकण्ठ–२ मा रैथाने सेकुवा एण्ड रेष्ट्रो संचालन गरिरहनु भएको छ । सान न्यूजका सम्पादक केशवराज अर्यालले सोही अर्गानिक उत्पादन र त्यसलाई उपभोक्ताको भान्सासम्म पस्कने पोखरेलको अभियानमा केन्द्रीत रही गरेको कुराकानीको सम्पादित अंश:
तपाई पेशाले इन्जिनियर र राजनीतिज्ञ हुँदाहुँदै रैथाने सेकुवा एण्ड रेष्ट्रो संचालन गरिराख्नु भएको छ, किन ?
मैले पेशा वा व्यवसाय जे गर्दा पनि समाज र उपभोक्तालाई केन्द्रमा राखेर गर्ने गर्दछु । अहिले रैथाने सेकुवा एण्ड रेष्ट्रो भनेर जुन संचालन गरिरहेको छु, यहाँले यसलाई मात्र बुझ्न खोज्नु भयो भने, त्यो अपूर्ण हुन्छ । यो मेरो कृषि प्राजेक्टको एउटा पाटो हो । मेरो उद्देश्य भनेको किसानलाई अर्गानिक उत्पादनमा प्रोत्साहित गर्ने, उनीहरुले उत्पादन गरेको अर्कानिक वस्तु सिधैं उपभोक्तासम्म पुर्याउने हो ।
खासमा त यो काम हाम्रो जस्तो कृषि प्रधान देशमा केन्द्र, प्रदेश वा स्थानीय सरकारले गर्नु पर्ने थियो । उनीहरुले गरेनन् । अब नगर्ने सरकारलाई गालि गरेर बसिरहनु भन्दा आफैबाट थालनी गरौं भन्ने उद्देश्यसहित मैले आफ्नो गृहजिल्ला खोटाङमा विजय अर्गानिक भनेर कृषि फर्म संचालन गरिरहेको छु । जहाँ खसि, बोका, हाँस, कुखुरा, माछा, बँगुर, कागती र तरकारीहरु उत्पादन गरिराखेको छु । अहिले मेरो उद्देश्य यो उत्पादन गर्ने अभियानमा आम किसानलाई जोड्ने हो । यदि किसानले उत्पादन गर्ने तर बजार नपाउने हो भने उनीहरुलाई उत्पादन गर्न हौसला मिल्दैन । बजारको सहज पहुँच नहुने हो भने उत्पादन गर्नेलाई भन्दा बिचौलियालाई धेरै फाइदा हुन्छ ।

किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य नपाउने, उचित मूल्य नपाएपछि उत्पादननै नगर्ने अवस्था भयो । जसले गर्दा नेपाली बजारमा विदेशबाट आयात गरिएका विषादीयुक्त वस्तु आयात भए । भान्सामा त्यही पुग्यो, त्यही पाक्यो । यो समस्या कसरी समाधान गर्न सकिन्छ भनि मैले अध्ययन गरे । त्यसपछि मलाई थाहा भयो । थोरै थोरै उत्पादन गरेको कारण किसानले उत्पादन गरेका वस्तु बजारसम्म पुर्याउन समस्या भएको हो । त्यसपछि मैले धेरै उत्पादन गर्ने र त्यसलाई आफैले बजारमा पुर्याउने योजना बनाए । जसले गर्दा एकातर्फ किसानले जति उत्पादन गरे पनि उचित मूल्यमा बेच्न पाउने अर्कोतर्फ उपभोक्ताले पनि उचित मूल्यमा अर्गानिक वस्तु उपभोग गर्न पाउने, यसको निम्ति विजय अर्गानिकमार्फत उत्पादन गर्ने, रैथाने सेकुवा एण्ड रेष्ट्रोमार्फत उपभोक्ताकोमा पुर्याउने उद्देश्यसहित यो काम सुरु गरेको हुँ ।
उत्पादन र बजारीकरण गर्ने र बीचमा दलाललाई खान नदिने भन्नु भयो, त्यसको व्यवहारिक कार्य योजना के छ ?
कार्य योजना मात्र होइन मैले त कामनै गरिसके । अहिले व्यक्तिगत रुपमा गरिरहेको छु । अब समुदायस्तरमा गर्दछु । सुरुमा यो खोटाङबाट सुरु गर्दछु । त्यसको निम्ति प्रत्येक वडामा कम्तीमा १० जनादेखि २५ जनासम्मको समुह बनाउन भन्छु । उहाँहरुको १० जनाको समुहले एक लाख जम्मा गरे मैले विजय अर्गानिकबाट थप एक लाख जम्मा गरिदिन्छु । अनि वैज्ञानिक किसिमले उत्पादन गर्न सिकाउछु । अल्पकालिन खालका उत्पादनहरु जसलाई टनेल बनाएर खेती गर्न सिकाउछु । जस्तैः मुला, गाजर, धनिया, टमाटर आदि टनेलमा अल्पकालिन योजना अन्तर्गत उत्पादन हुन्छन् । अहिले गाउँमा धेरै उत्पादन नगर्ने एक दुई मुठा/किलो मात्र उत्पादन गर्ने भएकोले उत्पादित वस्तुले बजार नपाएको हो । यदि समुह मिलेर सबै मिली एकैपटकमा पाँच सय÷हजार केजी उत्पादन गरेमा त्यसले बजार पाउन समस्या पर्दैन । मैले आफै बलेरो पठाएर किसानबाट उत्पादित सामान खरिद गरेर रैथानेमार्फत उपभोक्ताकोमा ताजा र अर्कानिक खाद्य वस्तु पुर्याउदछु । लगानी पनि आधा आधा हुन्छ, नाफा पनि आधा आधा हुन्छ । यसो गर्दा किसानले बजार पाउछन्, उपभोक्ताले अर्गानिक खाद्य वस्तु सस्तोमा खान पाउछन् ।

खासमा यो काम सरकारले गर्नुपर्ने, सरकारले नगरेपछि मैले गरिरहेको छु । अर्को मध्यकालिन खालको उत्पादन हुन्छ, जसमा माटो परिक्षण गरेर खेती गर्नुपर्दछ । जस्तोः फलफुल खेतीहरु यसमा पर्दछन् । अहिले मैले करिबपचास पच्चपन्न हजार फलफुल यसै अन्तरगत खेती गरिरहेको छु । त्यसको दिर्घकालीन प्रकृतिका काम हुन्छन् यस अन्तर्गत बाटो, बजार, सिंचाई सबैको विश्लेषण गरेर खेती गर्नुपर्ने हुन्छ । मैले वडाहरुमा जुन समुह बनाउछु, उनीहरुलाई मासि खान होइन, चासी खानु पर्छ भनेर सिकाउछु अर्थात आम्दानीको केही अंश खाने र केही अंश थप लगानी गर्दै जाने । जसले गर्दा लगानी बढ्दै जान्छ, दुई लाखको चार लाख र चार लाखको आठ लाख हुँदै जान्छ । यसले किसानको आर्थिक अवस्था मजबुत बनाउछ । दुःख गर्ने होइन, बिचौलियाले नाफा खाने प्रवृत्ति हट्छ, उत्पादित वस्तु सिधैं उपभोक्ताकोमा जान्छ यसको निम्ति मैले दरबारमा संचालित किरणजीहरुको रैथानेसँग पनि सहकार्य गर्ने कुरा गरिराखेको छु ।
तपाईले आफ्नो योजना कृषकहरुलाई भनिरहदा कस्तो प्रतिक्रिया पाउनु भएको छ त ?
बुझ्नेले राम्रो गर्न थालिस भन्छन्, नबुझ्नेले पागल भइस भन्छन् । तपाई धर्मले राम्रो गर्न थाल्यो भनेर अन्तरवार्ता लिन आउनु भयो । अरुले धर्म पागल भयो भन्ने पनि छन् । म भन्छु, म पागलै भएर काम गर्न चाहन्छु । यहाँ केही नयाँ गर्न चाहनेलाई पागल भन्छन्, हो म पागलै हो । सरकारले समृद्ध नेपाल, सुखी नेपाली भन्छ । म भन्छु, खुशी नेपाली समृद्ध नेपाल । जब जनताले पैसा कमाएर खुसी/सुखी हुन्छन त्यसपछि नेपाल आफै समृद्ध भइहाल्छ, कसैले बनाउन पर्दैन ।
विदेशबाट सस्तोमा तरकारी र अन्य उपभोग्य वस्तु आउछ, तपाईहरुले उत्पादन गर्ने महंगो भएर बजारमा प्रतिस्पर्धा गर्न समस्या पर्ला नि ?
सानो परिमाणमा उत्पादन गर्दा महंगो हुने हो । सामुहिक रुपमा ठूलो परिमाणमा उत्पादन गरेपछि महंगो हुँदैन । किसानको अर्गानिक उत्पादन सिधैं उपभोक्ताकोमा पुर्याउन सके बजारको पनि समस्या हुँदैन । उपभोक्ताले सस्तो, स्वच्छ र अर्गानिक खाद्य बस्तु खोजिरहेका छन् । हामीले त्यस्तै वस्तु दिएपछि बजारको समस्या हुँदैन । हामीले तरकारी मात्र होइन, खसी, बोका, हाँस, कुखुरा, बदेलसहित किसानका अन्य उत्पादनको पनि बजारिकरण गरिदिन्छौं ।
फरक प्रशंगमा, अहिले संचालन गर्नु भएको रैथाने सेकुवा एण्ड रेष्ट्रोमा के के पाइन्छ, यसको अरुभन्दा भिन्न विशेषता के हो ?
रैथाने भन्ने साथ नामबाटै थाहा पाउनु भयो, यसमा स्थानीय र अर्गानिक खाना पाइन्छ । हाम्रोमा रावा खोला, सावा खोला, दुध कोशी, सुन कोशी ताजा माछा पाइन्छन् । बिहान माछा मार्न भनेर आइसमा राखेर बेलुकासम्म काठमाडौं ल्याइपुर्याउछौं । त्यस्तै, हाम्रोमा बँगुरको सेकुवा पनि अर्गानिक पाइन्छ । यहाँ सेकुवा खानेको भिड नै हुन्छ । पुर्याउन नसकेर हामीलाई आच्छुआच्छु पर्छ । हामीले उपभोक्ताकै अगाडि खसी, बँगुर, लोकल कुखुरा, हाँस, माछा, बदेल काटेर उहाँहरुले देख्ने गरी पकाएर खान दिन्छौं । हाम्रो भान्छामै गएर पकाएको हेर्न सकिन्छ । विजय अर्गानिकले उत्पादन गरेका अर्गानिक वस्तु रैथानेमा ल्याई बजारीकरण गर्छौ । मासु काट्ने आउटलेट पनि रेष्टुरेन्टसँगै छ । त्यसैले हाम्रोमा ताजा, स्वस्थ र अर्गानिक खाना पाइन्छ, मुख्य विशेषता यही हो ।

अरु विशेषता के के छन् ?
तपाईले ठाउँ देखि हाल्नु भयो । यो हाइटमा छ । एकान्त र खुल्ला ठाउँमा छ । ग्राहकहरु एक्लै वा समुह बनाएर अर्थात परिवारसहित जसरी पनि आउन सक्नु हुन्छ । एक्लै आउनेलाई एक्लै बस्ने सुविधा छ । परिवारसहित आउनेलाई परिवारसहित बस्ने सुविधा छ । समुहमा आउनेलाई समुहमै बस्ने सुविधा छ । राति बस्ने पनि सुविधा छ । यहाँ गाउँको वातावरण अनुसारका कोठादेखि तारे होटलसम्मको सुविधा भएका कोठाहरु, खानाहरु उपलब्ध छन् ।


















