सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारीपीडित बचकर्ताहरूले भोलि जेठ ११ देखि फेरि आन्दोलन सुरु गर्ने भएका छन् । उनीहरूले तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् ।
देशभरिका संकटग्रस्त सहकारीपीडित बचकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन घोषणा गरेको हो । महासंघका अध्यक्ष कुसलभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनैपनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए ।
उनका अनुसार जेठ ११ मा माइतीघर मण्डलाबाट सहकारीपीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गर्ने छन् । त्यसदिन र्यालीपछि कोणसभा गरेर रिले अनशन सुरु गर्ने बताइएको छ । सहकारीपीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभरि सशक्त रुपमा अगाडि बढ्ने उनले बताए । नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने उनले बताए ।


















