प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एम्नेस्टी इन्टरनेसनलका महासचिव अग्नेज कालामार्डबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सङ्क्रमणकालिन न्याय एवम् मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।
तिमिल्सिनाका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको संरक्षण र प्रवर्द्धनका पक्षमा प्रतिबद्धता व्यक्त गर्दै मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न नेपाल सधैँ प्रयत्नशील रहेको स्पष्ट पारेका थिए ।प्रधानमन्त्री दाहालले संसद्मा विचाराधिन सङ्क्रमणकालिन न्यायसम्बन्धी मस्यौंदा विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाइने बताएका थिए ।
त्यसअवसरमा महासचिव कालामार्डले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन प्रधानमन्त्री दाहालले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै सङ्क्रमणकालिन न्यायसम्बन्धी कानुन छिट्टै निर्माण हुने र शान्ति प्रक्रिया टुङ्गिने विश्वास व्यक्त गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।


















