कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकतासम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका सिरोहियालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भएको छ।
प्रहरी हिरासतमै रहेका बेला स्वास्थ्य बिग्रिएपछि जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएका उनलाई काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
काव्या अस्पतालले थप उपचारका लागि रिफर गरेपछि दिउँसो तीन बजे हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।
सोमबार तेस्रो पटक तीन दिनको म्याद थप गर्दा धनुषा जिल्ला अदालतले सिरोहियाको स्वास्थ्य अवस्थाको प्रतिकूलताको कारण उपर्युक्त अस्पतालमा लगेर उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका चिकित्सकबाट परीक्षण गर्न उपर्युक्त हुने आदेश दिएको थियो। सोही आदेशअनुसार उनलाई थप उपचारका लागि रिफर गरिएको उपचारमा संलग्न एक चिकित्सकले बताए।
‘पहिल्यैदेखि मुटुको नशा च्यापिएको साथै १० वर्षदेखि ब्लड प्रेसरको दबाई पनि खाँदै आउनु भएको छ। न्युरो सम्बन्धी मेडिसिटी अस्पतालमा नियमित फलो अप भइरहेकाले उहाँलाई त्यहीँ रिफर गरेका हौं,’ ती चिकित्सकले भने, ‘शरीरमा पोटासियम कम हुँदा हामीले उपचार गर्यौं। थप उपचारका लागि आजै बिहान १० बजे नै हामीले रिफर गरिसकेका छौँ।’

















