पर्यटन मन्त्री तामाङसँग इजरायली राजदूतको भेटवार्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय कूटनीतिक सम्बन्धलगायतका विषयमा छलफल भएको मन्त्री तामाङको सचिवालयले जनाएको छ ।

दुईबीच अन्तर्राष्ट्रिय बहुपक्षीय कूटनीतिक मञ्चहरूमा आपसी सहयोग सहकार्य गर्नेबारे छलफल भएको थियो । नेपाल र इजरायलबीच दौत्य सम्बन्ध स्थापना भएको ६४ वर्षभन्दा बढी भएको छ । इजरायलमा हाल तीन हजार बढी नेपाली विद्यार्थी, प्रशिक्षार्थी र कामदार रहेका छन् ।

भेटमा दुई देशबीचको आपसी सहयोग सम्बन्धका विविध विषयमा छलफल हुनुका साथै इजरायलले नेपालीलाई प्रदान गर्दै आएको रोजगारी, कृषि प्रविधि तथा छात्रवृत्तिलगायत विषयमा पनि छलफल भएको थियो । राजदूत गोडरले नेपालको प्रकृति, कला, संस्कृति र साहित्यको प्रशंसा गर्दै नेपालीहरुको आत्मीय व्यवहार रहेको भन्दै खुसी व्यक्त गरे ।

नेपालमा इजरायलबाट बर्सेनि हजारौँ पर्यटक आउने गरेको भन्दै उनले पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्ने र अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा सहकार्य गर्ने बताए ।