हाजिरी जमानतमा रिहा भए कैलाश सिरोहिया

नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका कैलाश सिरोहियालाई हाजिरी जमानीमा रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जन अवाले सरकारी वकिल कार्यालय धनुषाको स्वीकृतिपछि सिरोहियालाई हाजिरी जमानतमा छोडिएको जानकारी दिए ।

प्रवक्ता अवाले भने, ‘मुलुकी अपराध संहिताको प्रावधानअनुसार उहाँलाई थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिल, कार्यालय धनुषाले गरेको निर्णयका आधारमा हामीले हाजिरी जमानतमा छाड्न ललितपुर प्रहरीलाई गरेको सिफारिसपछि उनलाई छोडिएको छ ।’

स्वास्थ्य समस्याका कारण उपचारका लागि काठमाडौँ पठाइएका सिरोहियालाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा बोलाएको बेला हाजिर हुने कागज गरेर जमानतमा छोडिएको उनले बताए । सिरोहियालाई नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत धनुषाको आदेशमा गत जेठ ८ गते प्रहरी पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।