नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म भारत र बंगलादेशमा २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ।
यस अवधिमा आन्तरिक खपतपछि बचत भएको २ अर्ब ३८ करोड ८७ लाख युनिट बिजुली बिक्री गरिएको हो। प्राधिकरणका अनुसार सबैभन्दा बढी असोजमा ६ अर्ब ५ करोड रुपैयाँको विद्युत् निर्यात भएको छ। भारत र बंगलादेशमा भइरहेको निर्यात बाढीका कारण केही समय प्रभावित भए पनि कात्तिक पहिलो सातादेखि पुनः सञ्चालनमा आएको थियो। गत आर्थिक वर्ष प्राधिकरणले २९ अर्ब ३१ करोड रुपैयाँको बिजुली निर्यात गरेको थियो।


















