सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहानै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
प्रहरीका अनुसार जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ र जिपमा आठ जना सवार रहेको अनुमान गरिएको छ । मृतकको सनाखत भइसकेको छैन ।
प्रहरीले दुई जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको जनाएको छ । घाइतेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका-३ का अन्दाजी २८/२९ वर्षका नरी कामी र खाडाच्कर नगरपालिका-९ पाखाका नरेन्द्र विष्ट छन् । उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।


















